काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोलाई २५ प्रतिशत ट्यारिफमा छुट दिने निर्णय गरेका छन् । ट्रम्पले दुई दिनमा अमेरिकाका दुई ठूला व्यापारिक साझेदारहरूबाट आयातमा ट्यारिफ लगाउने र त्यसपछि छुट दिने निर्णय गरेको यो दोस्रो पटक हो।
यी निर्णयहरूले व्यापार र वित्तीय बजारहरूको अनिश्चितता बढाएको छ।
बुधबार ट्रम्पले कार उत्पादकहरुलाई २५ प्रतिशत आयात शुल्कबाट अस्थायी रुपमा छुट दिने बताएका थिए । मेक्सिकोका राष्ट्रपति क्लाउडिया शेनबाउमले यस कदमको लागि ट्रम्पलाई धन्यवाद दिएका छन् । उता क्यानाडाका अर्थमन्त्रीले भने अमेरिकी उत्पादनहरूमा प्रतिशोधात्मक शुल्कको दोस्रो चरणलाई तत्कालका लागि स्थगित गर्ने बताएका छन्।
क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले बिहीबार अमेरिकी राष्ट्रपति ट्रम्पसँग ट्यारिफको बारेमा फोन वार्तालाप गरेका थिए। ट्रुडोले पत्रकारहरूलाई यसबाट केही राहत भए पनि भविष्यमा व्यापारलाई लिएर दुई सहयोगीहरू बीच द्वन्द्वको सम्भावना अझै कायम ्रहेको बताए।
कार निर्माताहरू र कार पार्ट्स आपूर्तिकर्ताहरूलाई मद्दत गर्ने उद्देश्यले मेक्सिकोका राष्ट्रपति शेनबाउमसँगको फोन वार्तापछि ट्रम्पले अप्रिल २ सम्म छूटहरू विस्तार गर्न सहमत भएको बताए।
ह्वाइट हाउसका एक अधिकारीले मेक्सिकोबाट हुने अमेरिकी आयातको ५० प्रतिशत र क्यानडाबाट हुने ६२ प्रतिशत आयातमा शुल्क अझै कायम रहने बताए।