काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुमा साढे १२ अर्ब रुपैयाँको बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार फागुन २१ गतेसम्ममा ठूला बीमक र लघुबीमक गरी कुल १८ निर्जीवन बीमा कम्पनीमा १२ अर्ब ६४ करोड ३२ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको हो ।
गत असोज महिनाको दोस्रो सातादेखि परेको अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरोबाट धेरैको धन सम्पत्ति क्षति भएको थियो । प्राधिकरणले निर्जीवन बीमकहरुलाई क्षति मूल्यांकन गरी सक्दो चाँडो दाबी भुक्तानी दिन निर्देशन समेत दिइरहेको छ ।
सो अवधिसम्म कम्पनीहरुले ३ अर्ब ५ करोड ६० लाख रुपैयाँ मात्रै बीमा दाबी भुक्तानी गरेका छन् । यो रकम दाबी परेको कुल रकमको जम्मा २४.१७ प्रतिशत रकम हो । बीमा कम्पनीहरुले यस आधारमा अझै ७५.८३ प्रतिशत दाबी भुक्तानी दिन बाँकी नै छ ।
प्राधिकरणका अनुसार सो अवधिसम्म बीमा कम्पनीहरुबाट अझै पनि ९ अर्ब ५ करोड १० लाख रुपैयाँ बीमा दाबी भुक्तानी हुन बाँकी रहेको छ । प्राधिकरणको निर्देशन बमोजिम बीमा कम्पनीहरुले फागुन २१ गतेसम्ममा ३ हजार ७२८ वटा दाबी परेकोमा २ हजार ४७८ वटा बीमाको दाबी भुक्तानी भएको हो । बीमा कम्पनीहरुले अझैपनि १ हजार २८९ वटा बीमा दाबीको भुक्तानी दिन बाँकी छ ।
बीमा कम्पनीहरुले बाढीले पुर्याएको क्षतिको मूल्यांकन गरी दाबी भुक्तानी दिनुपर्नेछ । यसआधारमा चालु आवको तेस्रो त्रैमाससम्म निर्जीवन बीमा कम्पनीहरुको खुद मुनाफा अझै प्रभावित हुने देखिएको छ ।
दोस्रो त्रैमाससम्म निर्जीवन बीमा कम्पनीको मुनाफा गत आवको तुलनामा आधा भन्दा बढी घटेको थियो । गत आवको दोस्रो त्रैमाससम्म ३ अर्ब ९ करोड रुपैयाँ नाफा कमाएको निर्जीवन बीमकहरुले चालु आवको दोस्रो त्रैमाससम्म जम्मा १ अर्ब २५ करोड रुपैयाँ मात्रै नाफा कमाएको थियो । यसर्थमा गत आवको तुनलामा निर्जीवन बीमकहरुको नाफा ५९.३८ प्रतिशतले घटेको हो ।
तेस्रो त्रैमाससम्म पुग्दा निर्जीवन बीमा कम्पनीहरुको नाफा अझै प्रभावित बन्न सक्ने प्रक्षेपण गर्न सकिन्छ । अझैपनि ७५ प्रतिशत बीमाको दाबी भुक्तानी दिन बाँकी नै भएकाले निर्जीवन बीमकहरुको नाफा घट्न सक्ने देखिन्छ ।
निर्जीवन बीमा कम्पनीहरुले कम्पनीको जोखिमाङ्कन भार घटाउन पुनर्बीमा गराएपनि दाबीको पुरै रकम भने पुनर्बीमामार्फत कभर हुँदैन । यसकारण केही प्रतिशत नाफाको रकम भएपनि बीमकहरुले दाबी भुक्तानीमा खर्च गर्नुपर्ने हुन्छ ।
