काठमाण्डौ । शोधानान्तर स्थिति पौने ३ खर्ब रुपैयाँ बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आवको ७ महिनासम्ममा शोधनान्तर स्थिति २ खर्ब ८४ अर्ब ४१ करोड रुपैयाँले बचतमा रहेको हो ।
यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा ४.४७ प्रतिशत कम हो । गत वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ९७ अर्ब ७२ करोड रुपैयाँले बचतमा रहेको थियो ।
समीक्षा अवधिमा चालु खाता १ खर्ब ६६ अर्ब ८० करोड रुपैयाँले बचतमा रहेको छ । यो रकम गत आवको तुलनामा २।६३ प्रतिशत बढी हो । गत वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ६२ अर्ब ५२ करोड रुपैयाँले बचतमा रहेको थियो ।
त्यस्तै, सो अवधिमा खुद पुँजीगत ट्रान्सफर ५ अर्ब ८३ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३ अर्ब ८० करोड रुपैयाँ रहेको थियो ।
यसैगरी, समीक्षा अवधिमा ७ अर्ब ४५ करोड प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) ५ अर्ब १९ करोड रहेको थियो । यस हिसाबमा गत वर्षको तुलनामा प्रत्यक्ष वैदेशिक लगानी ४३.५५ प्रतिशत बृद्धि भएको छ ।