काठमाण्डौ । अमेरिकी प्रविधि कम्पनी एप्पलले स्वचालित इलेक्ट्रीक कार निर्माण गर्ने १० वर्षे योजना रद्द गरेको छ । कम्पनीले एक दशकदेखि यो प्रोजेक्टमा काम गरिरहेको भएपनि अहिलेसम्म कुनै पनि फिजिकल प्रोटोटाइप तयार गर्न भने सकेको थिएन ।
ब्लूमबर्गका अनुसार कम्पनीले यो प्रोजेक्टमा काम गरिरहेका कामदारलाई कम्पनीको एआई डिभिजनमा सार्ने तयारी गरेको छ । विद्युतीय सवारी साधनको बिक्रीमा आएको कमीका कारण लगानीकर्ताहरुले हात झिकिरहेका कारण कम्पनी स्वचालिन इलेक्ट्रिक कार निर्माण गर्ने कदमबाट पछि हटेको हो ।
कम्पनीले आधिकारीक रुपमा ईभी कार बनाउने कुनै पनि घोषणा भने गरेको थिएन । तर कम्पनीले ‘प्रोजेक्ट टाइटन’मार्फत विगत १० वर्षदेखि ईभी कार निर्माणका लागि थुप्रै कदमहरु चालेको थियो । जसका कारण कम्पनीले छिट्टै स्वचालिन ईभी कार निर्माण गर्नसक्ने अड्कलबाजी गरिएको थियो ।
एप्पलले सन् २०१४ र सन् २०१७ अप्रिलमा अटोमोटिभ कार्यकारीहरु नियुक्त गरेको थियो । कम्पनीले क्यालिफोर्निया डिपार्टमेन्ट अफ मोटरबाट स्वचालिन सवारीको परीक्षणका लागि अनुमति समेत प्राप्त गरेको थियो । यसको दुई वर्षपछि कम्पनीले स्वचालित कार स्टार्टअप ‘ड्राइभ एआई’लाई प्राप्ति गरेको थियो ।
यस्तै कम्पनीले बीएमडब्लुका ईभी बनाउने दक्ष तथा वरिष्ठ कर्मचारीहरुलाई नियुक्ती समेत गरेको थियो । -एजेन्सी