काठमाण्डौ । जीवन बीमा कम्पनीहरुको व्यवसायमा उल्लेख्य सुधार देखिएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार १४ जीवन बीमकले गत आवको तुलनामा १४.६२ प्रतिशतले व्यवसाय बढाएका छन् ।
प्राधिकरणका अनुसार चालु आवको तेस्रो त्रैमाससम्ममा जीवन बीमकहरुले १ खर्ब २६ अर्ब १८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । गत आवको सोही अवधिसम्म भने जीवन बीमकहरुले १ खर्ब १० अर्ब ८ करोड रुपैयाँ मात्रै बीमाशुल्क संकलन गरेका थिए ।
यस अवधिसम्म आइपुग्दा सबै बीमकको व्यवसाय बढेको छ । तेस्रो त्रैमाससम्म सबैभन्दा बढी प्रिमियम भित्र्याउनेमा नेपाल लाइफ रहेको छ । कम्पनीले ३३ अर्ब १ करोड ७८ लाख रुपैयाँ प्रिमिमय संकलन गरेको छ । जुन यो बीमकहरुको कुल व्यवसायको २६.१६ प्रतिशत रकम हो ।
त्यस्तै, दोस्रो बढी प्रिमियम संकलन गर्नेमा नेशनल लाइफ रहेको छ ।कम्पनीले पनि सो अवधिसम्म १५ अर्ब ६४ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
यसका साथै एलआईसी नेपालले १४ अर्ब ३ करोड, हिमालयन लाइफले १२ अर्ब ५९करोड, राष्ट्रिय जीवन बीमा कम्पनीले ८ अर्ब १६ करोड, सूर्यज्योति लाइफले ७ अर्ब ६५ करोड, एशियन लाइफले ६ अर्ब ४६ करोड, सिटिजन लाइफले ५ अर्ब ८ करोड, सानिमा रिलायन्स लाइफले ४ अर्ब ८४ करोड, मेट लाइफले ४ अर्ब ४४ करोड, आइएमई लाइफले ३ अर्ब ७७ करोड, रिलायबल नेपाल लाइफले ३ अर्ब ६९ करोड, प्रभु महालक्ष्मी लाइफले ३ अर्ब ६७ करोड र सन नेपाल लाइफले ३ अर्ब ८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।
गत आवको तुलनामा सबैभन्दा बढी व्यवसाय बढाउनेमा भने राष्ट्रिय जीवन बीमा कम्पनी रहेको छ । कम्पनीले ४९.२५ प्रतिशतले व्यवसाय ग्रोथ गरेको छ । त्यस्तै, रिलायबल नेपाल लाइफले पनि २३.७५ प्रतिशतले व्यवसाय बढाएको छ ।
