काठमाण्डौं । जीवन बीमा कम्पनीहरुले एक खर्ब भन्दा बढी बीमालेख धितोकर्जा प्रवाह गरेका छन् । चालु आवको तेस्रो त्रैमाससम्म १४ जीवन बीमा कम्पनीले १ खर्ब ४ अर्ब ४० करोड रुपैयाँ बराबरको बीमालेख धितो कर्जा प्रवाह गरेका छन् ।
यो कर्जा प्रवाह गत आवको सोही अवधिसम्मको तुलनामा ६.४० प्रतिशत बढी हो । गत आवको तेस्रो त्रैमाससम्म जीवन बीमकहरुले ९८ अर्ब १३ करोड रुपैयाँ बराबरको बीमालेख धितो कर्जा प्रवाह गरेका थिए ।
जीवन बीमा कम्पनीहरुमा बीमितले आफ्नो बीमालेख धितो राखी कर्जा लिन सकिने व्यवस्था छ । बीमा कम्पनीहरुले बैंक तथा वित्तीय संस्थाले लिने ब्याजदर भन्दा सहुलियतमा आफ्नो बीमितलाई कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था छ ।
जीवन बीमालेखसम्बन्धी निर्देशिका, २०७८ मा ‘बीमकले बीमालेखअन्तर्गत पुरा ३ वर्षको बीमाशुल्क प्राप्त भई बीमा प्रारम्भ मितिबाट ३ वर्ष पुरा भएपश्चात् तथा एकल बीमाशुल्क भुक्तानी गर्ने बीमालेखको हकमा समेत बीमा प्रारम्भ मितिबाट ३ वर्ष पुरा भएपश्चात् बीमालेख समर्पण गर्न तथा धितो राखेर ऋण प्रदान गर्न सक्नेछ’ भनी उल्लेख छ ।
बीमालेखबाहेक अन्य कुनै पनि वस्तु धितो राख्नु नपर्ने भएकाले बैंकको तुलनामा बीमा कम्पनीबाट ऋण लिने प्रक्रिया झन्झटमुक्त मानिन्छ । निर्देशिका बमोजिम बीमितले बीमा प्रारम्भ भएको तीन किस्ता प्रिमियम तिरेपछि प्रिमियम रकमको ९० प्रतिशतसम्म कर्जा लिन पाउनेछन् ।
कुन कम्पनीबाट कति कर्जा प्रवाह ?
चालु आवको तेस्रो त्रैमाससम्म एलआइसी नेपाल बाहेक सबै कम्पनीको यस्तो कर्जा प्रवाह बृद्धि भएको छ । सो अवधिसम्म सबैभन्दा बढी नेपाल लाइफले बीमितहरुलाई ३६ अर्ब ६४ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन् ।
यो रकम गत आवको तुलनामा ८.०७ प्रतिशत बढी हो । गत आवको तेस्रो त्रैमाससम्म नेपाल लाइफले ३३ अर्ब ९१ करोड रुपैयाँ बराबरको बीमालेख धितो कर्जा प्रवाह गरेको थियो ।
त्यस्तै, एलआइसी नेपालले २१ अर्ब ९३ करोड, नेशनल लाइफले १२ अर्ब २१ करोड, राष्ट्रिय जीवन बीमा कम्पनीले ८ अर्ब २२ करोड, हिमालयन लाइफले ७ अर्ब ८३ करोड, एशियन लाइफले ५ अर्ब ११ करोड, सूर्यज्योति लाइफले ४ अर्ब ५५ करोड, मेट लाइफले १ अर्ब ८४ करोड, सानिमा रिलायन्स लाइफले १ अर्ब ५७ करोड, प्रभु महालक्ष्मी लाइफले १ अर्ब २७ कुरोड, सिटिजन लाइफले १ अर्ब ३ करोड, आइएमई लाइफले ९४ करोड, सन नेपाल लाइफले ७४ करोड र रिलायबल नेपाल लाइफले ५६ करोड रुपैयाँ बराबरको बीमालेख धितोकर्जा प्रवाह गरेका छन् ।
बीमालेख धितोकर्जाबाट रु.७.५६ अर्ब आम्दानी
जीवन बीमा कम्पनीहरुले बीमालेख धितो कर्जा प्रवाह गरेर साढे ७ अर्ब रुपैयाँ ब्याज आम्दानी गरेका छन् । चालु आवको तेस्रो त्रैमाससम्म १४ जीवन बीमकहरुले ७ अर्ब ५६ करोड रुपैयाँ ब्याज आम्दानी गरेको हो ।
यो रकम गत आवको तुलनामा १६.७२ प्रतिशत बढी हो । गत आवको तेस्रो त्रैमाससम्म जीवन बीमा कम्पनीहरुले बीमालेख धितो कर्जा प्रवाह गरेर ६ अर्ब ४८ करोड रुपैयाँ ब्याज आम्दानी गरेका थिए ।
सो अवधिसम्म सबैभन्दा बढी नेपाल लाइफले २ अर्ब ७५ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । यो रकम गत आवको तुलनामा १२.१८ प्रतिशत बढी हो ।
त्यस्तै, एलआइसी नेपालले १ अर्ब ७९ करोड, नेशनल लाइफले ८५ करोड ७० लाख, हिमालयन लाइफले ६७ करोड ७१ लाख, एशियन लाइफले ४२ करोड ३७ लाख, सूर्यज्योति लाइफले ३० करोड २५ लाख, मेट लाइफले १४ करोड ६२ लाख, राष्ट्रिय जीनव बीमा कम्पनीले २१ करोड ९१ लाख, प्रभु महालक्ष्मी लाइफले ९ करोड ७० लाख, सानिमा रिलायन्स लाइफले ९ करोड ४९ लाख, सिटिजन लाइफले ७ करोड ३५ लाख, आइएमई लाइफले ६ करोड ५० लाख, रिलायबल नेपाल लाइफले ३ करोड ३६ लाख र सन नेपाल लाइफले २ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ ।
गत आवको तुनलामा सबैभन्दा बढी यस्तो आम्दानी बढ्ने कम्पनीमा प्रभु महालक्ष्मी लाइफ रहेको छ । कम्पनीको यस्तो आम्दानी १२७.४० प्रतिशत बृद्धि भएको छ।

