काठमाण्डौ । सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गतको सातौँ प्रतियोगिता सूर्य नेपाल च्यालेन्ज भोलिदेखि रोयल नेपाल गल्फ क्लबमा सुरू हुँदैछ। ७२ होलको चार दिने प्रतियोगितामा ३६ प्रोफेसनल र ११ एमेच्योर खेलाडीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। ३६ होलको समाप्तीमा कट लागु हुनेछ। जहाँ शीर्ष २१ प्रोफेसनल र एमेच्योर खेलाडीले बाँकी ३६ होलको लागि स्थान बनाउनेछन्।
चार दिने प्रतियोगितालाई थप रोमाञ्चक बनाउन कोर्सलाई पनि सोही अनुसार कठीन बनाइएको छ। नेपाल नम्बर एक गल्फर भुवन नगरकोटी, यो सिजन उत्कृष्ट फर्ममा रहेका निरज तामाङ, साबिक विजेता रवि खड्का, दिनेश प्रजापति र भारतीय गल्फ टुर खेलिरहेका शुक्र बहादुर राई जस्ता खेलाडीहरूबीच उपाधिको लागि प्रतिस्पर्धा हुने सम्भावना रहेको छ।
यो पटक नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्यले व्यक्तिगत कारण सहभागीता नजनाउने भएका छन्। सदभाव सहभागी नहुने भए पनि अर्का एमेच्योेर राहुल विश्वकर्माले प्रोफेसनल खेलाडीहरूलाई कडा चुनौति दिन सक्छन्।
प्रतियोगिताको कुल पुरस्कार राशी ६ लाख रुपैयाँ रहेको छ। विजेताले १ लाख १० हजार रुपैयाँ प्राप्त गर्नेछन्। दोस्रो र तेस्रो हुनेले क्रमश ७० हजार र ५० हजार हात पार्नेछन्। साथै शीर्ष २१ भित्र पर्ने प्रोफेसनल गल्फरहरुले पनि नगद प्राप्त गर्नेछन्।
चार दिनको मुख्य स्पर्धा पश्चात शनिबार प्रो–एम प्रतिस्पर्धा हुने आयोजक नेपाल प्रोफेशनल गल्फर्स एशोसिएसन (एनपिजिए) ले जनाएको छ। एनपिजिएका अध्यक्ष रविन्द्रमान श्रेष्ठले भने, ‘अघिल्ला प्रतियोगिताहरूजस्तै यसपटक पनि खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्ने र उत्कृष्ट स्कोर गर्ने अपेक्षा लिएको छु। खेलको विकासका लागि निरन्तर सहयोग पुर्याएको प्रायोजक सूर्य नेपाल प्रालिप्रति हामी आभारी छौं।