काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले सोमबार साँझ प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भेट स्थगित हुनु पछाडिको कारण गठबन्धनमा समस्या आएर नभएको दाबी गरेको छ ।
एक सचिवालय सदस्यले बिजशालासँग कुरा गर्दै गठबन्धनमा कुनै समस्या नरहेको र सोमबार कांगे्रेस सभापति देउवासँगको भेट प्रधानमन्त्रीको स्वास्थ्यमा आएको समस्याका कारण अन्तिम अवस्थामा स्थगित भएको जिकिर गरे ।
'गठबन्धनमै समस्या आएको भनेर जुन ढंगले प्रचार भइरहेको छ, अवस्था त्यस्तो होइन ।' ती सदस्यले नाम उल्लेख नगर्ने शर्तमा भने-'सोमबार तय भएको भेट प्रधानमन्त्रीलाई रुघामर्कीले ज्यादा नै सताएपछि स्थगित भएको हो ।'
ती सदस्यको दाबीलाई मान्ने हो भने देउवा भेटका लागि बालुवाटार आउन तयार भए पनि आफूलाई सञ्चो नभएपछि प्रम ओली आफैंले नै आज नभेटौं टेलिफोन गरेका थिए ।
ओलीको सचिवालयले गरेको दाबी देउवा निकट उच्च स्रोतहरु तथा दुवै दलका शीर्ष नेतानिकट स्रोतहरुले भने खण्डन गरेका छन् । नेपाल राष्ट्रबैंकको गभर्नर नियुक्तिमा ओलीले छलछामपूर्ण व्यवहार देखाएपछि पछिल्लो समय गठबन्धनमा समस्या आएको र ओलीले टेलिफोन गर्दा समेत देउवा उनीसँग सम्वाद गर्न तयार नभएको दाबी गरेका छन् । 'सोमबार देउवा ओली जीसँग निकै रिसाउनुभयो । फोनमा पनि बोल्न मान्नुभएन । भेट्नका लागि निम्तो आएको थिएन, जानु भएन । विवाद निकै चर्किएको देखिन्छ ।' स्रोतले भन्यो ।