काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा मन्त्रिपरिषद बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए ।
साँझ ६ बजेका लागि डाकिएको बैठकअघि प्रधानमन्त्री केपी ओलीले प्रमुख सत्तारुढ घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्दैछन् । देउवाको सुझावका आधारमा प्रम ओलीले क्याबिनेट बोलाएका र आजैको क्याबिनेटले जनेजी पुस्ताको आन्दोलनको विषयमा समेत विश्लेषण गर्ने बताइएको छ ।
सरकारले आन्दोलनलाई दबाउन प्रहरी परिचालन गरी दमनको नीति लिएको विषयमा चौतर्फी विरोध भइरहेको छ । आन्दोलनका क्रममा जेनजी पुस्तामाथि प्रहरीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा ६ जनाको मृत्यु भइसकेको खबरहरु बाहिरिएका छन् । १०० जना भन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् ।
जेनजीको प्रदर्शनले पोखरा, दमक, इटहरी, हेटौडा, चितवन जस्ता प्रमुख शहरी क्षेत्र समेत तनावग्रस्त बन्न पुगेका छन् । जेनजी आन्दोलन एकैपटक देशभर आगो झै फैलिएपछि सरकारको जग हल्लिएको विश्लेषण भइरहँदा प्रधानमन्त्रीले डाकेको आकस्मिक क्याबिनेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।