काठमाण्डौ । नेपाली कांग्रेसबाट केपी ओली नेतृत्वको सरकारमा सहभागी मन्त्रीहरुको सामूहिक राजीनामा आउने भएको छ ।
एक मन्त्रीका अनुसार सरकारबाट बाहिरिने दबाब बढ्दै गएपछि नेपाली कांग्रेसका मन्त्रीहरू भैंसेपाटीस्थित निवासमा सामूहिक छलफलमा बसेका छन्। सो छलफल सामूहिक राजीनामा गर्ने विषयमा केन्द्रीत रहेको छ ।
पार्टीका नेता शेखर कोइराला, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार छाड्न सभापति शेरबहादुर देउवालाई आग्रह गरिरहेका बेला मन्त्रीहरुको सामूहिक बैठकले सामूहिक राजीनामा दिएर थप दवाब सिर्जना गर्ने रणनीतिमा नेताहरु देखिएका छन् ।
छलफलकै बीचमा कृषि मन्त्री रामनाथ अधिकारीले इमेलमार्फत आफ्नो राजीनामा घोषणा गरिसकेका छन्। स्वास्थ्य मन्त्री प्रदीप पौडेलले पनि राजीनामा गर्ने घोषणा गरिसकेका छन् । अन्य मन्त्रीहरु समेत राजीनामा मूडमा देखिन्छन् ।
मन्त्रीहरुले सामूहिक राजीनामाको तयारी गरिरहँदा पार्टी सभापति देउवाले भने त्यसतर्फ कुनै चासो दिएका छैनन् । उनी अझै पनि सरकार छाडिनहाल्ने पक्षमा रहेका स्रोतहरु दाबी गर्छन ।