काठमाण्डौ । आन्दोलनकारीको दबाबमा आज कारागारबाट रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशवासीका नाममा एक अपील जारी गरेका छन्।
उनले देश अब जेनजीको सपना र परिकल्पनाअनुसार अघि बढ्ने भन्दै राष्ट्रिय सम्पत्तिको संरक्षणमा जोड दिएका छन्।
उनको अपीलको पूर्णपाठ यस्तो छ:
आदरणीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू,
सर्वप्रथम, यो आन्दोलनमा सहिद हुनुभएका वीरहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।
देश लुट्नेहरूले अब सजाय भोग्ने क्रम सुरु भएको छ। उनीहरूले तीन पुस्तासम्म लुटेर जोडेको सम्पत्ति उनीहरूको निजी होइन, यो देशको सम्पत्ति हो। यस्ता सम्पत्तिहरू पूर्ण रूपमा राष्ट्रियकरण गर्नुपर्छ र यस्ता व्यक्तिहरूलाई कानुनी कठघरामा ल्याउनुपर्छ। तर, अब हामीले संयमित भएर राष्ट्रिय सम्पत्तिको रक्षा गर्नु अत्यन्त जरुरी छ।
प्रहरी, सुरक्षा निकाय, न्यायालय र यस्ता निकायका दस्तावेजहरू राष्ट्रका अमूल्य सम्पत्ति हुन्। यिनको संरक्षण गर्न नसकेमा देशका संवेदनशील कागजातहरू नष्ट हुन सक्छन्, जुन हामी र यो देशका लागि ठूलो क्षति हुनेछ। सरकारी सम्पत्तिको क्षति हुँदा राष्ट्रकै सम्पत्ति नष्ट हुने भएकाले यिनको रक्षा गर्ने दायित्व हाम्रो काँधमा छ।
यो आन्दोलन पूर्ण रूपमा जेनजीको हो। देशको नेतृत्व अब जेनजीको माग र परिकल्पनाअनुसार अघि बढ्नुपर्छ भन्नेमा म प्रष्ट छु। म सधैं नागरिक सर्वोच्चताको पक्षमा उभिनेछु।
नागरिकको दबाबपछि सरकारले कानुनी प्रक्रिया पूरा गरी मलाई रिहा गरेको हो। म कारागारबाट बाहिरिएर सिधै तपाईंहरूको सामु आएको छु। तथापि, म देशको कानुनप्रति पूर्ण रूपमा बफादार छु र भविष्यमा आवश्यक पर्ने सबै कानुनी प्रक्रियाका लागि तयार छु।
अन्तमा, एक जिम्मेवार नागरिकको हैसियतले म सबैलाई संयमित रहन हार्दिक अपील गर्दछु।