काठमाण्डौ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले जेनजी पुस्ताको उत्साहपूर्ण समर्थन प्राप्त भएकाले चुनावी सरकारको नेतृत्व गर्न इच्छुक रहेको बताएकी छिन्।
भारतीय समाचार च्यानल न्युज-१८ सँग कुरा गर्दै उनले जेनजी आन्दोलनपछि बनेको परिस्थितिमा सरकारको नेतृत्व लिन आफू तयार रहेको खुलासा गरिन्।
"जेनजी युवाहरूले मलाई विश्वास गरेर साथ दिएका छन्। म छोटो समयका लागि सरकार चलाएर निष्पक्ष चुनाव गराउन सक्छु," कार्कीले भनिन्। उनले आन्दोलनमा सहिद भएका युवाहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै तिनका परिवारका मागलाई प्राथमिकतामा राख्ने वाचा गरिन्।
उनले आफ्नो पहिलो कदम भ्रष्टाचारविरुद्ध कडा कारबाही हुने बताइन्। "विद्यार्थीहरूसँग अन्तिम कुराकानी बाँकी छ, तर उनीहरूको समर्थनले हामीले सफलता पाउनेछौँ," उनले थपिन्।
साथै, उनले सर्वोच्च अदालत, सिंहदरबार र अन्य सरकारी भवनमा भएको आगजनीका घटनालाई दुखद् भएको उल्लेख गरिन्।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                