काठमाण्डौ । मुलुक अस्थिर राजनीतिक परिस्थितिबाट गुज्रिरहेको बेलामा नेकपा एमालेले राष्ट्रपतिलाई सक्रिय पहल लिन आग्रह गरेको छ।
पार्टीका महासचिव शंकर पोखरेलले सोमबार जारी वक्तव्यमा संविधानको मर्मअनुरूप राष्ट्रिय संवाद सुरु गर्नुपर्ने आवश्यकता औंल्याउँदै राष्ट्रपति रामचन्द्र पौडेललाई नेतृत्वदायी भूमिका खेल्न ध्यानाकर्षण गराएका छन्।
विज्ञप्तिमा सुशासन, नातावादको अन्त्य, तीव्र आर्थिक विकास र युवाका लागि रोजगारी सिर्जना अहिलेको प्रमुख आवश्यकता भएको उल्लेख गरिएको छ। “युवापुस्ताको सरोकार सम्बोधन नभएसम्म मुलुक स्थिरता र प्रगतितर्फ जान सक्दैन,” वक्तव्यमा भनिएको छ।
हाल भइरहेका जेनजी प्रदर्शनका क्रममा तोडफोड, लुटपाट र आगजनीमा एमालेको कुनै संलग्नता नरहेको पार्टीले स्पष्ट पारेको छ। यस्ता घटनामा संलग्न वास्तविक दोषी पहिचान गरी कानुनी कारबाही गर्नुपर्ने माग समेत एमालेले गरेको छ।
त्यस्तै, ठूलो विनाश रोक्न राज्यका सुरक्षा निकायहरू किन प्रभावकारी हुन नसके भन्नेबारे पनि गम्भीर समीक्षा आवश्यक भएको एमालेको भनाइ छ। स्थानीय तहहरूले अवरोधबिना नागरिक सेवाप्रवाह गर्न सक्ने अवस्था बनाउन सरकारप्रति आग्रह गरिएको छ।




                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                