काठमाण्डौ । नेपालको अन्तरिम सरकारको नेतृत्व सम्हालेकी प्रधानमन्त्री सुशीला कार्कीलाई चीनले औपचारिक रूपमा बधाई दिएको छ। आइतबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले विज्ञप्ति जारी गर्दै कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त भएकोमा शुभकामना व्यक्त गरेका हुन्।
विज्ञप्तिमा भनिएको छ, “नेपाल र चीनबीचको मित्रता ऐतिहासिक रूपमा गहिरो छ। चीनले सधैंजसो नेपाली जनताले रोजेको स्वतन्त्र विकास यात्राको सम्मान गर्दै आएको छ।”
चिनियाँ सरकारी मुखपत्र ग्लोबल टाइम्स का अनुसार प्रवक्ताले थपे, “हामी पञ्चशीलको सिद्धान्तलाई अझ मजबुत बनाउन, विभिन्न क्षेत्रमा सहयोग र आदानप्रदान बढाउन र दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन तयार छौँ।”
पूर्वप्रधानन्यायाधीश कार्कीलाई ‘जेनजी’ आन्दोलनका मागअनुसार अन्तरिम सरकारको नेतृत्वमा ल्याइएको हो। चीनको बधाई सन्देशलाई नेपाल–चीन सम्बन्धलाई अझ प्रगाढ बनाउने संकेतको रूपमा हेरिएको छ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                