काठमाण्डौ । जाडो मौसम सुरु भएसँगै देशका धेरै क्षेत्रमा कडा कुहिरो पर्ने गर्छ। यस्तो अवस्थामा गाडी चलाउन निकै कठिन हुन्छ र दुर्घटनाको जोखिम पनि बढ्छ। प्रायः चालकहरूका लागि यो ठूलो समस्या बन्न सक्छ, र सम्भवतः तपाईं पनि यसबाट प्रभावित हुनु भएको होला। कुहिरोका कारण दृश्यता कम हुने भएकाले सडक दुर्घटनाको खतरा अझ बढी हुन्छ। यही कारणले धेरैले आपतकालीन वा ह्याज़र्ड लाइट बालेर गाडी चलाउँछन्। उनीहरूलाई लाग्छ कि यसरी गर्दा सुरक्षा बढ्छ। तर, वास्तवमा यो गलत मात्र होइन, दुर्घटनाको सम्भावना अझ बढाउन सक्छ।
इमरजेन्सी वा ह्याज़र्ड लाइट भनेको के हो ?
प्रत्येक कारमा एउटा बटन दिइएको हुन्छ, जसलाई थिच्दा गाडीका चारै तर्फका इन्डिकेटरहरू एकैपटक ब्लिङ्क हुन्छन्। यही लाईटलाई इमरजेन्सी वा ह्याज़र्ड लाइट भनिन्छ।
धेरै चालकहरू, विशेष गरी नयाँ चालकहरू, जाडोमा कुहिरो पर्दा गाडी चलाउँदा ह्याज़र्ड लाइट बाल्ने गल्ती गर्छन्। उनीहरूले यसलाई सुरक्षित उपाय ठान्छन्, तर यो सोच पूर्ण रूपमा गलत र खतरनाक हो।
ह्याज़र्ड लाइट किन दिइएको हुन्छ ?
यी लाइटको उद्देश्य स्पष्ट छ—यी गाडी रोकिएको वा बिग्रिएको संकेत दिन प्रयोग गरिन्छ। यी लाइट त्यसै मात्र बाल्नुपर्छ जब गाडी सडकको छेउमा रोकिएको छ, गाडी बिग्रिएको छ (जस्तै? टायर पञ्चर, ब्याट्री बिग्रनु आदि),वा कुनै आपतकालीन स्थिति आएको छ।
यस्ता अवस्थामा ह्याज़र्ड लाइटले अन्य चालकलाई सावधान हुन सन्देश दिन्छ।
कुहिरोमा ह्याज़र्ड लाइट बालेर गाडी चलाउनु किन खतरनाक हुन्छ ?
१. भ्रम सिर्जना हुन्छ
ह्याज़र्ड लाइट बलिरहेको देख्दा पछाडिबाट आउने चालकलाई गाडी रोकिएको जस्तो लाग्छ। तर वास्तविकता के हुन्छ भने—गाडी चलिरहेको हुन्छ।
यसले उनीहरूमा भ्रम सिर्जना गर्छ र अचानक ब्रेक लगाउनुपर्छ, जसले पछाडिबाट ठक्कर लग्ने जोखिम बढाउँछ।
२. टर्न सिग्नल काम नगर्ने सबभन्दा ठूलो समस्या
ह्याज़र्ड लाइट बलिरहेको बेला इन्डिकेटर ९टर्न सिग्नल० काम गर्दैन। यदि तपाईंले लेन बदल्नुपर्यो वा मोडिनुपर्यो भने, पछाडिका चालकलाई जानकारी नै हुँदैन। यसले दुर्घटनाको सम्भावना धेरै गुणा बढाउँछ।
कुहिरोमा के गर्नु उपयुक्त हुन्छ ?
१. फग लाइट बाल्नुहोस्
कुहिरोको अवस्थाका लागि नै डिजाइन गरिएका यी लाइटले सडकलाई तलतिर प्रकाश पारेर स्पष्ट देखाउन मद्दत गर्छन्।
२. गाडी बिस्तारै चलाउनुहोस्
कुहिरोमा गति नियन्त्रण सबैभन्दा महत्वपूर्ण हुन्छ। तेज गतिमा दुर्घटनाको जोखिम धेरै बढ्छ।
३. सुरक्षित दूरी कायम राख्नुहोस्
अगाडिको गाडीबाट पर्याप्त दूरी राख्नुहोस्, ताकि आकस्मिक ब्रेक लागे पनि सुरक्षित रहन सकियोस्।
कुहिरोमा ह्याज़र्ड लाइट बालेर गाडी चलाउनु सुरक्षा होइन, उल्टै दुर्घटनाको खतरा बढाउने जोखिमपूर्ण अभ्यास हो। सही तरीका भनेको—फग लाइटको प्रयोग, कम गति, र सुरक्षित दूरी हो।

