काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)को पछिल्लो भूमिकाबारे तीन पूर्व अध्यक्षहरुले कडा आपत्तिसहित गम्भीर प्रश्न उठाएका छन् ।
सेबोन नेतृत्व एकपछि अर्को विवादमा तानिन थालेपछि बोर्ड हाँकेका तीन अध्यक्षहरुले गम्भीर चासो व्यक्त गर्दै सेबोनको इन्टीग्रिटी र प्रतिष्ठा जोगाउनका लागि आवश्यक कदम चाल्न सरकारलाई आग्रह गरेका छन् ।
उनीहरु तीनैजनाले रिलायन्स स्पिनिङ मिल्सलाई आईपीओ निश्कासनका लागि धितोपत्र बोर्डले गरेको हतारो र रोजेको गलत बाटोको समेत आलोचना गरे । सेबोन नेतृत्वले नियामकजस्तो परिपक्व व्यवहार नदेखाएको र कम्पनीसँग मिलेर लगानीकर्ता डूबाउने खेलमा सामेल भएको भन्दै उनीहरुले आपत्ति समेत जनाएका छन् । यो प्रकरणमा सरकारले तत्काल हस्तक्षेप गरी धितोपत्र बोर्डको साख जोगाउनुपर्ने र पूँजीबजारप्रति सर्वसाधारणको विश्वास टुट्न नदिन आकस्मिक एक्सनको आवश्यकतामा समेत उनीहरुले जोड दिएका छन् ।

धितोपत्र बोर्डका पूर्व अध्यक्ष डा. रेवतबहादुर कार्कीले सेबोनको पछिल्लो नेतृत्वको गलत रबैयाका कारण बजारमा सुशासन खड्किएको भन्दै प्रश्न उठाएका छन् । आफूहरुले बोर्ड सम्हाल्दा यसको प्रतिष्ठा उच्च रहेको भए पनि पछिल्लोकालमा अध्यक्षको जिम्मेवारीमा रहेकाले साख गिराउने काम गरेका र कतिपय लाजमर्दो काममा समेत संलग्न भएको देखिएपछि आफूहरुलाई सेबोनको पूर्व अध्यक्ष भन्न नै लाज लाग्न थालेको उनको टिप्पणी छ । 'बोर्डको सुशासन पक्ष अत्यन्त कमजोर भयो । अध्यक्ष नै गलत बाटोमा हिडे । यहीकारण अहिले मलाई सेबोनको पूर्वअध्यक्ष भन्दा गर्व होइन कि लाज लाग्न थालेको छ ।' डा. कार्कीले बिजशालासँग भने-'हामीले बनाएको व्यवस्थित सिस्टमकै कारण नेपालको धितोपत्र बोर्डले अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । तर अहिलेको नेतृत्वबाट स्मूथ फङसनिङ भएकै छैन । पछिल्लो उदाहरणको रुपमा रिलायन्सको आईपीओ प्रकरणलाई नै लिन सकिन्छ ।'
उनले धितोपत्र बोर्डको मुख्य जिम्मेवारी बजार र लगानीकर्ताको हित संरक्षण गर्नु रहेको सुझाउँदै गलत ढंगले काम हुन थालेकोमा चिन्ता प्रकट गरे । 'पछिल्लो नेतृत्वबाट बजार र लगानीकर्ताको हितविपरीत काम भएको छ ।' डा. कार्कीले भने-'रिलायन्स प्रकरणमा पनि लगानीकर्ताको हित हेरिएको छैन ।'
उनले विगतमा आफू स्टक एक्सचेञ्जमा हुँदा कतिपय कम्पनीले प्रिमियमको नाममा आईपीओमा चर्को मूल्य असूल्न खोज्दा आधा बढीले मूल्य घटाइदिएको समेत स्मरण गरे । 'त्यसबेला मैले पनि विभिन्न खालका दवाबहरु झेलेँ । तर मैले आफ्नो अडान र बजार सुधारको प्रयास छाडिँन ।' डा. कार्कीले अगाडि भने- 'बजार सुधारका लागि मेरो कार्यकालमा धेरै काम भएका छन् । बजार र लगानीकर्ताको हित नहेर्ने नियामक रहनु र नरहनुको के अर्थ ?'
सेबोनका पूर्व अध्यक्ष समेत रहेका पूर्व गभर्नर डा. चिरञ्जिवी नेपालले धितोपत्र बोर्डको अहिलेको नेतृत्व इतिहासमै सबैभन्दा बढी विवादित बनेको दाबी गरे ।
'हाइड्रो पावरको आईपीओमा कस्तो नराम्रो म्यासेज गयो । नियामक निकायको नेतृत्वको बारेमा त्यस्तो म्यासेज बाहिर आउनै हुँदैन थियो ।' उनले बिजशालासँग भने-'यति धेरै विवादमा आएपछि नैतिकता हुनेहरुले पद त्याग्नसक्नु पथ्र्यो, त्यति नैतिकता समेत अहिलेको नेतृत्वमा देखिएन । बरु एकपछि अर्को विवादमा फस्ने काम मात्र भएको, कम्पनी तथा विभिन्न समूहसँग मिलेमतो गरी आफैं बोर्डको भूमिका कमजोर बनाउने अभियानमा रहेको देखिएको छ । यो निकै नै गलत भइरहेको छ।'

सेबोन नेतृत्वको काम कारबाही पारदर्शी नभएको र यसको ज्वलन्त उदाहरणको रुपमा रिलायन्सको आईपीओलाई लिन सकिने उनको पनि भनाई छ । 'बोर्डको काम बजारलाई नियमन गर्ने हो । कोहीसँग मिलेर आफैं खेलोफड्कोमा लाग्ने काम गर्नै हुँदैन । अहिलेको बोर्डको नेतृत्वको निश्पक्षतामा बजारले कदम–कदम प्रश्न गर्ने दुःखदायी अवस्था देखिएको छ । सेबोनको पारदर्शिता र निश्पक्षतामा प्रश्न हुन थाल्नु लाजमर्दो विषय हो ।' उनले भने- 'यस्तो विषयमा सरकारले र माथिल्लो निकायले पनि गम्भीर चासो दिन आवश्यक छ । बजारलाई यसरी अलपत्र पारेर छाडिनुहुन्न ।'
डा. नेपालले पनि धितोपत्र बोर्डको विगतको साख ध्वस्त बनाइएकोमा असन्तुष्टि व्यक्त गरे । 'त्यत्रो दिन हड्ताल भयो, तालाबन्दी भयो । तर नेतृत्वले समयमा निकास समेत दिन सकेन ।' उनले थपे-'कानूनमा रहेर गरिएका कामहरुको विषयमा समेत अनावश्यक प्रश्नहरु हुँदा नेतृत्व लविङ गर्ने भूमिकामा समेत इतिहासकै कमजोर देखियो ।'
उनले सेबोनको नेतृत्व गलत बाटोमा लाग्दा बजार अनुगमनको काम ठप्पजस्तो भएको र यसको फाइदा उठाउने समूहहरुले पूँजीबजारमा जथाभावी गरिरहेका दाबी गरे । 'मैले रिलायन्सको केसलाई निकै नजिकबाट नियालिरहेको छु । यसको आईपीओमा सेबोनले जुन भूमिका खेल्नुपथ्र्यो, त्यसको ठीकविपरीत भूमिका निर्वाह गरेको मेरो ठहर छ ।' उनले थपे-'सेबोनको अहिलेको नेतृत्वको भूमिका कतै पनि चित्तबुझ्दो छैन । उसको कमजोर नियमन र उदासीनताकै कारण पछिल्लो समय लगानीकर्ता ठगिने अवस्था बनेको छ । आईपीओ ल्याउने नाममा जथाभावी गर्न दिइएको छ ।'
उनले एउटै समूह मिलेर रेटिङ एजेन्सी खोल्ने र त्यसले उनीहरु नै मुख्य प्रवद्र्धक रहेको कम्पनीलाई आईपीओ निश्कासन गर्न सहज गरिदिने विकृति मिलेमतोमै मौलाइरहेको, तर यस्ता गतिविधि नियन्त्रणमा समेत बोर्ड नेतृत्व गैरजिम्मेवार बनेको आरोप लगाए ।

अर्का अध्यक्ष भीष्म ढुंगानाले समेत रिलायन्सको आईपीओ प्रकरणमा धितोपत्र बोर्डको नेतृत्वले गरेको काम लगानीकर्ताको हितविपरीत रहेको दाबी गरे । '२ वर्षअघिको वित्तीय विवरणमा कुनै अपडेट नै नगरी पुरानै मूल्य राखेर आईपीओ जारीका लागि हतारो गरिनु बजार र लगानीकर्ताको हितमा छैन ।' विदेशबाटै बिजशालासँग कुरा गर्दै उनले भने- 'यो विषयलाई तत्काल करेक्सन गरेर सेबोनले आफ्नो साख जोगाउने काम गरोस् । पूँजीबजारप्रति सर्वसाधारण लगानीकर्ताको भरोसा टुट्न दिनुहुँदैन ।'

