काठमाण्डौ । जेनजी आन्दोलनका कारण प्रभावित बनेका निर्जीवन बीमा कम्पनीहरुको व्यवसायमा उल्लेख्य सुधार देखिएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार १४ निर्जीवन बीमा कम्पनीहरुले चालु् आवको ५ महिनासम्ममा १९ अर्ब ४८ करोड ९६ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।
निर्जीवन बीमकहरुले उठाएको यो प्रिमियम रकम गत आवको सोही अवधिसम्मको तुलनामा १३.४६ प्रतिशत बढी हो । गत आवको मंसिर महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुले १७ अर्ब १७ करोड ७७ लाख रुपैयाँ प्रिमियम उठाएका थिए ।
जेनजी आन्दोलनले गर्दा निर्जीवन बीमा कम्पनीहरुमा अबौैं रकमको बीमा दाबी पर्दा बीमकहरुको नाफामा ठूलो प्रभाव परेको थियो । जेनजी आन्दोलनसँगै बाढी पहिरोले धनसम्पत्तिमा क्षति पुग्दा निर्जीवन बीमा कम्पनीहरुलाई ठूलो दाबी भुक्तानी गर्नुपर्ने दायित्वले नाफा प्रभावित बनेको छ ।
तर यस्ता प्राकृतिक घटना र हुलदंगाबाट प्रभाव सर्वसाधारणको धनसम्पत्तिमा ठूलो क्षति पुग्ने भएकाले बीमा प्रतिको चेतना र माग बढ्न थालेको छ । सवारी, सम्पत्ति, कृषि जस्ता क्षेत्रमा प्रत्यक्ष प्रभाव परेकाले जोखिम भएपछि होइन, जोखिम अघि नै सुरक्षा भन्ने सोच जनमानसमा फैलिन थालेको छ । जसकारण अहिले निर्जीवन बीमा कम्पनीहरुको बीमालेख बिक्रीमा वृद्धिदर देखिन थालेको छ ।
सो अवधिसमम सरकारी स्वामित्वमा रहेको कम्पनी राष्ट्रिय बीमा कम्पनी र दि ओरियन्टल इन्स्योरेन्स बाहेक सबैको व्यवसाय गत आवको तुलनामा उल्लेख्य बढेको छ ।
सबैभन्दा बढी प्रिमियम भित्र्याउने कम्पनीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ । यो कम्पनीले २ अर्ब २१ करोड ९२ लाख रुपैयाँ प्रिमियम भित्र्याइएको छ । जुन गत आवको तुलनामा ०.८८ प्रतिशत बढी हो ।
त्यस्तै, शिखर इन्स्योरेन्सले २ अर्ब १५ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । कम्पनीको यो व्यवसाय गत आवको सोही अवधिसम्मको तुलनामा २३।४१ प्रतिशत बढी हो ।
यसका साथै हिमालयन एभरेष्टले २ अर्ब, सिद्धार्थ प्रिमियरले १ अर्ब ८६ करोड, आइजीआई प्रुडेन्सियलले १ अर्ब ६६ करोड, एनएलजीले १ अर्ब ५७ करोड, नेको इन्स्योरेन्सले १ अर्ब ४३ करोड, युनाइटेड अजोडले १ अर्ब ३१ करोड, सानिमा जिआइसीले १ अर्ब २२ करोड, ओरियन्टल इन्स्योरेन्सले १ अर्ब ११ करोड, नेपाल इन्स्योरेन्सले १ अर्ब १ करोड, प्रभु इन्स्योरेन्सले ७९ करोड ८५ लाख, नेशनल इन्स्योरेन्सले ६० करोड ६८ लाख र राष्ट्रिय बीमा कम्पनीले ४९ करोड ३० लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।


