काठमाण्डौ । उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई प्रहरीले नियन्त्रणमा लिएर करिब सात घण्टा सोधपुछ गरेपछि रिहा गरेको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार दिउँसो करिब ३ बजे पुष्करलाई नियन्त्रणमा लिएर बयान तथा सोधपुछ गरेको थियो। अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार उनलाई राति करिब १० बजे पत्नी तथा सहसचिव आभा श्रेष्ठको जिम्मा लगाएर छाडिएको हो।
गृह मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनपछि पुष्करमाथि सोधपुछ गरिएको हो। उनीमाथि सरकारी प्रशासनको ‘चेन अफ कमान्ड’ उल्लंघन गर्दै व्यक्तिगत स्वार्थअनुकूल निर्णय गराउन खोजेको आशंकामा प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रत्यक्ष सन्देश पठाएको आरोप लागेको छ।
यद्यपि उनीविरुद्ध कुनै औपचारिक मुद्दा दर्ता गरिएको छैन। सोधपुछपछि परिवारको जिम्मामा छाडिएको घटनाले प्रशासनिक वृत्तमा भने तरंग सिर्जना गरेको छ।
पुष्कर पछिल्लो समय मुख्यसचिव पदका सम्भावित दाबेदारमध्ये एक मानिन्थे। तर सरकारले २०८२ मंसिर ९ गते सुमनराज अर्याललाई मुख्यसचिव नियुक्त गरेपछि उनी प्रतिस्पर्धाबाट बाहिरिएका थिए।
प्रशासनिक उच्च तहका एक अधिकारीका अनुसार यो घटनाले निजामती सेवाभित्र बढ्दो शक्ति संघर्ष, पहुँचको राजनीति र पदोन्नति प्रक्रियासँग जोडिएका विवादहरूलाई पुनः सतहमा ल्याएको छ। प्रधानमन्त्रीसँग प्रत्यक्ष सम्पर्क गर्ने विषयलाई लिएर सरकारी संयन्त्रभित्रै प्रश्न उठिरहेका बेला सचिवस्तरका अधिकारीमाथि सोधपुछ हुनुले प्रशासनिक अनुशासन र आन्तरिक कार्यप्रणालीमाथि बहस चर्किएको छ।
हाल पुष्कर नियमित जिम्मेवारीमै फर्किने वा उनीमाथि थप छानबिन अघि बढ्ने भन्ने विषयमा सरकारी निकायहरूले औपचारिक धारणा सार्वजनिक गरेका छैनन्।

