काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले ‘बीमा साक्षरता रुपरेखा, २०८३’ का मस्यौदा तयार पारेको छ ।
प्राधिकरणले बीमा विकास तथा प्रवर्द्धनका लागि अपरिहार्य रहेको बीमा साक्षरता अभियान प्राधिकरण तथा बीमक दुवैको समान जिम्मेवारी रहेको उल्लेख गर्दै बीमा साक्षरता रुपरेखा तयार पारेको हो ।
साथै प्राधिकरणले उक्त रुपरेखा सम्बन्धमा जीवन बीमक, निर्जीवन बीमक, लघु बीमक र बीमा मध्यस्थकर्ताहरुलाई आवश्यक राय, सुझाव तथा संलग्न गर्नुपर्ने विषयहरु समावेश गरी ३ दिनभित्र लिखित रुपमा बीमा प्रवर्द्धन शाखाको इमेलमा पेश गर्न समेत अनुरोध गरेको छ ।
बीमा साक्षरताको अभियानमा नेपाल बीमा प्राधिकरण तथा बीमकको समेत भूमिका वृद्धि गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गरी प्राधिकरणले विभिन्न परिपत्रहरु समेत जारी गर्दै आएको छ । यद्यपि विभिन्न रुपमा छरिएर रहेका बीमा साक्षरता कार्यक्रमहरुलाई थप सुव्यवस्थित बनाउन यो मागर्दशन जारी गरिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले तयार पारेको सो सम्बन्धी मार्गदर्शनमा बीमा साक्षरतलाई चार रुपमा उल्लेख गरेको छ । बीमा ज्ञान, बीमा सिप, बीमा मनोवृत्ति र बीमा व्यवहार अनुसार बीमा साक्षरता बढाउनुपर्ने प्राधिकरणले उल्लेख गरेको छ ।
साथै प्राधिकरणले डिजिटल बीमा साक्षरतालाई पनि जोड दिएको छ । परम्परागत माध्यमहरुको तुलनामा डिजिटल बीमा सेवा बढी भरपर्दो, सस्तो र सजिलो खालका हुने र यस्तो सेवाको प्रयोगलाई अझ बढी प्रोत्साहन गरिनुपर्ने उल्लेख गरेको छ ।
क. नेपाल बीमा प्राधिकरणको जिम्मेवारी र भूमिका
१. समय सापेक्ष रूपमा बीमा साक्षरता सम्बन्धी निर्देशिका तथा मापदण्डहरू तर्जुमा गरी कार्यान्वयनमा ल्याउने ।
२. बीमा सम्बन्धी सामान्य देखि विशिष्ट ज्ञान समेटिएका साक्षरता सामग्री तथा पाठ्यक्रमको को तयारी एवम् प्रमाणीकरण गर्ने ।
३. विभिन्न सञ्चार माध्यम, प्रविधि र च्यानलहरूको उपयोग गरी देशव्यापी रूपमा बीमा साक्षरता
तथा जनचेतना अभिवृद्धि सम्बन्धी प्रवर्द्धनात्मक कार्यक्रमहरू प्रत्यक्ष रूपमा सञ्चालन गर्ने ।
४. बीमा साक्षरता कार्यक्रमहरूलाई स्थानीय र तल्लो तहसम्म पुयाउन आवश्यक पर्ने दक्ष जनशक्ति तयार गर्न प्रशिक्षकहरूको प्रशिक्षण तथा अन्य क्षमता अभिवृद्धिका विशेष कार्यक्रमहरू सञ्चालन गर्ने।
५. बीमा बजारका जनशक्ति, मध्यस्थकर्ता तथा अन्य सरोकारवालाहरूको व्यावसायिक दक्षता बढाउन विभिन्न समसामयिक र प्राविधिक बीमा विषयहरूमा नियमित तालिम प्रदान गर्ने । ६. इजाजतपत्रप्राप्त बीमकले बीमा साक्षरता र प्रवर्द्धनात्मक कार्य गर्न/गराउन परिपत्र तथा निर्देशन दिने ।
७. नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, नेपाल सरकारका मन्त्रालयहरू, स्थानीय सरकार, शैक्षिक संस्था र अन्य सरोकारवाला निकायहरूसँग MoU गरी वित्तीय सचेतनाका कार्यक्रमहरूमा प्रभावकारी समन्वय र रणनीतिक साझेदारी गर्ने ।
८. इजाजतपत्रप्राप्त संस्थाहरूले तर्जुमा गरेका वार्षिक साक्षरता योजनाहरूको समीक्षा गर्ने र देशैभरि सञ्चालन भएका बीमा साक्षरता कार्यक्रमहरूको नियमित अनुगमन, सुपरिवेक्षण एवं प्रभावकारिताको मूल्याङ्कन गरी आवश्यक निर्देशन जारी गर्ने ।
९.
राष्ट्रिय स्तरमा बीमा साक्षरता, जनविश्वास र बीमा पहुँचको वास्तविक अवस्था पहिचान गर्न आवधिक रूपमा अध्ययन, अनुसन्धान तथा सर्वेक्षण सञ्चालन गर्ने ।
ख. बीमकको जिम्मेवारी तथा भूमिका
१. बीमा साक्षरता सम्बन्धी वार्षिक योजना तथा आवधिक कार्ययोजना तर्जुमा गर्दा अनिवार्य रूपमा नेपाल बीमा प्राधिकरणद्वारा जारी यस रूपरेखा एवं मापदण्डहरूको पूर्ण पालना गर्ने ।
२. बीमा साक्षरता कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन, समन्वय र निरन्तरताका लागि आफ्नो केन्द्रीय कार्यालयमा एक छुट्टै बीमा साक्षरताको कार्यान्वयन, व्यवस्थापन तथा अनुगमन हुने व्यवस्था गर्ने।
३. साक्षरता सम्बन्धी योजनाहरू तयार गर्दा प्रत्येक लक्षित वर्गको बीमा ज्ञान, सीप, मनोवृत्ति र व्यवहार (Knowledge, Skill, Attitude & Behavior) मा सकारात्मक परिवर्तन ल्याउने गरी सैद्धान्तिक एवं व्यावहारिक दुवै पक्षहरूलाई समावेश गर्ने ।
४. यस रूपरेखामा आधारित भई आम नागरिकले सहजै बुझ्ने सरल नेपाली एवं स्थानीय भाषामा बीमा सम्बन्धी आधारभूतदेखि विशिष्ट ज्ञान समेटिएका अध्ययन तथा चेतनामूलक सामग्रीहरू नियमित रूपमा निर्माण एवं सम्प्रेषण गर्ने ।
५. बीमा साक्षरता कार्यक्रमहरू व्यापारिक मनसाय, व्यवसाय विस्तार वा ब्रान्डिङका लागि मात्र नभई प्राथमिक रूपमा संस्थागत सामाजिक उत्तरदायित्वको भावना र नागरिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रेरित भई सञ्चालन गर्ने ।
६. बीमा साक्षरता कार्यक्रमहरू सबै क्षेत्र र लक्षित समूहहरूमा न्यायोचित ढङ्गले सञ्चालन गर्ने ।
७. बीमा साक्षरता र जनचेतना अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाउन आफ्ना कर्मचारी, एजेन्ट तथा मध्यस्थकर्ताहरूका लागि नियमित रूपमा आवश्यक तालिम, प्रशिक्षण र क्षमता अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन गर्ने ।
८. आम नागरिकले बीमा सम्बन्धी सूचना र जानकारीहरू सहजै पाउन सक्ने गरी डिजिटल
प्लेटफर्म,हटलाइनर स्थानीय शाखा कार्यालयहरूमा आवश्यक सूचना संयन्त्रको विकास गर्ने ।
९. आफ्ना ग्राहक एवं सर्वसाधारणले बीमा साक्षरता कार्यक्रमका क्रममा राखेका जनगुनासो, सुझाव र पृष्ठपोषणहरूलाई संकलन गरी सोको उचित व्यवस्थापन गर्ने र मापदण्ड अनुरूप बीमा सेवाको गुणस्तरमा निरन्तर वृद्धि गर्दै लैजाने ।
१०. आफूले सञ्चालन गरेका बीमा साक्षरता सम्बन्धी सम्पूर्ण गतिविधिहरू, भौतिक तथा वित्तीय प्रगति र प्राप्त जनगुनासोहरूको एकीकृत विवरण नियमित रूपमा अनुसूची २ को ढाँचामा रिपोर्टिङ
गर्ने ।
११. नेपाल बीमा प्राधिकरणको मार्गदर्शन बमोजिम बीमा साक्षरता र प्रवर्द्धनात्मक कार्यका लागि वार्षिक बजेट विनियोजन गरी सोको पारदर्शी एवं समुचित उपयोग सुनिश्चित गर्ने ।
ग. बीमा मध्यस्थकर्ताहरुको जिम्मेवारी तथा भूमिका
१. ग्राहक वा सर्वसाधारणसँग प्रत्यक्ष अन्तरक्रिया गर्दा व्यापारिक नाफा वा कमिसनलाई मात्र प्राथमिकता नदिई उपभोक्ता हित र बीमा सचेतनालाई केन्द्रमा राखी व्यावसायिक आचरणको पूर्ण पालना गर्ने ।
२. सम्भावित बीमितको आर्थिक अवस्था र वास्तविक जोखिमको वस्तुनिष्ठ विश्लेषण गरी उनीहरूको आवश्यकता सुहाउँदो सही बीमा योजना छनोट गर्न व्यावसायिक परामर्श प्रदान गर्ने । ३. सम्भावित ग्राहकहरूलाई बीमालेख विक्री गर्नु अगाडि सम्बन्धित बीमा योजनाको विशेषता, रक्षावरण (Coverage), अपवाद (Exclusions), बीमाशुल्क र दाबी प्रक्रियाका बारेमा बुझिने गरी सरल भाषामा बुझाउने र उनीहरूको बीमा ज्ञान अभिवृद्धिमा सहयोग गर्ने ।
४. नागरिकहरूमा बीमा सीपको विकास गर्न प्रस्ताव फाराम कसरी सही रूपमा भर्ने, आवश्यक कागजात कसरी सुरक्षित राखे र डिजिटल माध्यमबाट बीमाशुल्क कसरी भुक्तानी गर्ने भन्ने जस्ता व्यावहारिक पक्षहरू सिकाउने ।
५. समाजमा बीमाप्रति रहेका नकारात्मक भ्रम, अन्धविश्वास वा गलत धारणालाई चिर्दै बीमा फजुल खर्च नभई जोखिम व्यवस्थापनको अनिवार्य साधन हो भन्ने कुरा बुझाई नागरिकहरूमा सकारात्मक बीमा मनोवृत्तिको निर्माण गर्ने ।
१०
६. दुर्गम, ग्रामीण, कृषि क्षेत्र र न्यून आय भएका सीमान्तकृत वर्गसम्म पुगी उनीहरूको आवश्यकता अनुरूपका लघुबीमा र कृषि बीमा योजनाहरूका बारेमा जानकारी दिँदै वित्तीय समावेशीकरणमा योगदान पु-याउने ।
७. नेपाल बीमा प्राधिकरण तथा बीमा कम्पनीहरूद्वारा स्वीकृत र प्रमाणित साक्षरता सामग्रीहरू मात्र ग्राहकसमक्ष वितरण गर्ने, सचेतनाका नाममा भ्रामक वा अतिरञ्जित जानकारी सम्प्रेषण
नगर्ने ।
८. स्थानीय तहमा हुने मेला, पर्व, हाटबजार, आमा समूह वा सहकारीका बैठकहरूमा सहभागी भई
अनौपचारिक एवं समुदायमा आधारित बीमा साक्षरता र छलफल कार्यक्रमहरू सञ्चालन गर्ने ।
९. बीमा दाबीका समयमा बीमितहरुलाई आवश्यक कागजातहरू जुटाउन, दावी फाराम भर्न र बीमकसमक्ष सही समयमा दाबी प्रक्रिया अगाडि बढाउन व्यावहारिक रूपमा सहजीकरण गरी सुरक्षित र जिम्मेवार बीमा व्यवहारको विकास गराउने ।
१०. नेपाल बीमा प्राधिकरणबाट जारी हुने नयाँ नीति, नियम, निर्देशिका र बजारमा आउने नवीन योजनाहरूबारे आफू सधैं पूर्ण रूपमा अद्यावधिक रही बीमितहरूलाई सही र नवीनतम जानकारी उपलब्ध गराउने ।

