Bizshala
  • आईतवार, भाद्र १४,२०८३ 11:05:29
Bizshala
Global IME Bank Limited

विपत्तिको छायाँबीच सकियो नाडा अटो शो, यी बने पाँच विधाका उत्कृष्ट स्टल

विपत्तिको छायाँबीच सकियो नाडा अटो शो, यी बने पाँच विधाका उत्कृष्ट स्टल
New Office

काठमाडौँ। मुलुकले बाढीपहिरोबाट उत्पन्न गम्भीर मानवीय संकट सामना गरिरहेका बेला सञ्चालन भएको ‘नाडा अटो शो २०२६’ आइतबार सम्पन्न भएको छ। विपत्तिका कारण अपेक्षित उत्सवी माहोल बन्न नसके पनि प्रदर्शनीले नेपाली अटोमोबाइल बजारमा भित्रिएको नयाँ प्रविधि, विद्युतीय सवारीसाधनको बढ्दो प्रभाव र अटो कर्जामा देखिएको प्रतिस्पर्धालाई एकै ठाउँमा उजागर गरेको छ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ५०औँ स्वर्णजयन्तीका अवसरमा आयोजित अटो शोको यो १८औँ संस्करण हो। भदौ ९ देखि १४ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन भएको प्रदर्शनीमा २०० भन्दा बढी स्टल राखिएका थिए।

Bizshala
CG Motors

प्रदर्शनीमा नयाँ सवारीसाधनसँगै अटो पार्टपुर्जा, टायर, लुब्रिकेन्ट्स, बैंकिङ तथा बीमा सेवा र अटोमोबाइलसँग सम्बन्धित विभिन्न उत्पादन तथा प्रविधि प्रस्तुत गरिएको थियो।

नाडाका अनुसार शोमा २५ वटा प्यासेन्जर भेहिकल, १७ वटा लाइट कमर्सियल भेहिकल र १३ वटा दुईपांग्रे सवारीसाधनका ब्रान्ड सहभागी थिए। त्यसैगरी १५ वटा बैंक तथा वित्तीय संस्था र बीमा सेवा प्रदायकले आफ्ना सेवा तथा योजना प्रस्तुत गरेका थिए।

नयाँ मोडल र ईभीमा दर्शकको आकर्षण

यस वर्षको अटो शोमा नयाँ मोडलका चारपांग्रे तथा दुईपांग्रे सवारी मुख्य आकर्षण बने। विभिन्न कम्पनीले नेपालमा पहिलोपटक आफ्ना नयाँ मोडल सार्वजनिक तथा प्रदर्शन गरेका थिए।

विशेषगरी विद्युतीय सवारीसाधनको उल्लेख्य उपस्थितिले नेपाली अटो बजार तीव्र रूपमा ईभीतर्फ मोडिएको संकेत गरेको छ। नयाँ पुस्ताका विद्युतीय कार, मोटरसाइकल र स्कुटरसँगै नेपालमै उत्पादन तथा एसेम्बल गरिएका अटोमोबाइल सामग्रीले पनि उपभोक्ताको ध्यान तानेका थिए।

बीवाईडी, टाटा, दीपल, नामी, अवतार, जेइकु, चेरी र डङफेङलगायत ब्रान्डका नयाँ मोडल प्रदर्शनीका प्रमुख आकर्षण बने।

गाडीमा मात्रै होइन, कर्जामा पनि प्रतिस्पर्धा

अटो शोमा सवारीसाधन बिक्रेता कम्पनीबीच मात्रै होइन, बैंक तथा वित्तीय संस्थाबीच समेत तीव्र प्रतिस्पर्धा देखियो। सहभागी बैंकहरूले उपभोक्तालाई आकर्षित गर्न सस्तो ब्याजदर, सेवा शुल्कमा छुट र आधारदरमा जोडिने प्रिमियम घटाउनेजस्ता योजना ल्याएका थिए।

केही बैंकले विद्युतीय सवारीसाधन खरिदका लागि विशेष कर्जा सुविधा र तुलनात्मक रूपमा कम ब्याजदरका योजना सार्वजनिक गरेका थिए। सवारी बजारमा देखिएको सुस्ततालाई चिर्न कम्पनीका अफर र बैंकका सहुलियतपूर्ण कर्जा योजनालाई एकैसाथ अघि सारिएको थियो।

उत्सवमा विपत्तिको गहिरो छायाँ

अटो शो चलिरहेकै समयमा भोटेकोशी र त्रिशूलीलगायतका नदी प्रणालीमा आएको विनाशकारी बाढी तथा पहिरोले ठूलो मानवीय र भौतिक क्षति पुर्‍याएको थियो। राष्ट्रिय विपत्तिका कारण यस वर्षको प्रदर्शनीमा उत्सवभन्दा पीडा र संवेदनाको अनुभूति बढी भएको नाडाले जनाएको छ।

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले कठिन परिस्थितिका बीच पनि प्रदर्शनीलाई निरन्तरता दिन सक्नु सहभागी कम्पनी, सञ्चारमाध्यम, उद्योगी–व्यवसायी र सर्वसाधारणले देखाएको सहयोग तथा विश्वासको परिणाम भएको बताए।

“विपत्तिले हामीलाई कमजोर बनाउन सक्छ, तर हाम्रो सङ्कल्पलाई कमजोर बनाउन सक्दैन,” उनले भने, “यही विश्वासका साथ हामीले अटो शोलाई निरन्तरता दियौँ। कठिन परिस्थितिमा सबै पक्षबाट प्राप्त सहयोग, सद्भाव र विश्वासले हामीलाई थप मजबुत बनाएको छ।”

उनले अटो शो सवारीसाधन बिक्री गर्ने थलोमा मात्रै सीमित नरहेको बताए। यो नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको भविष्यबारे बहस गर्ने, नयाँ प्रविधि प्रदर्शन गर्ने र उद्योगसँग सम्बन्धित विभिन्न पक्षलाई एउटै मञ्चमा जोड्ने माध्यम बनेको उनको भनाइ छ।

नाडाले यस वर्ष प्रदर्शनीमा ‘उद्योगदेखि रोजगारसम्म’ भन्ने अवधारणालाई समेत प्राथमिकता दिएको जनाएको छ।

पाँच विधामा यी स्टल उत्कृष्ट

नाडा अटो शो २०२६ मा पाँच विधाका उत्कृष्ट स्टललाई सम्मान गरिएको छ।

-चारपांग्रे प्यासेन्जर कारतर्फ साइमेक्स इन्क प्रालिको बीवाईडी

-दुईपांग्रे सवारीसाधनतर्फ एमएडब्लू राइड्स प्रालिको यामाहा

-कमर्सियल चारपांग्रेतर्फ एनईभी नेपाल प्रालिको दिगो

-अटो कम्पोनेन्टतर्फ सिप्रदी अटोपार्ट्स प्रालिको मिशेलिन टायर

-बैंक तथा वित्तीय संस्थातर्फ माछापुच्छ्रे बैंक

उत्कृष्ट स्टल छनोटका लागि नाडाले सम्बन्धित क्षेत्रका प्रतिनिधि सम्मिलित तीन सदस्यीय मूल्याङ्कन समिति गठन गरेको थियो।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.