काठमाण्डौ । भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट पोस्टमार्टमका लागि काठमाडौँ ल्याइएका ११४ शवमध्ये हालसम्म १३ जनाको मात्रै पहिचान खुलेको छ।
रसुवा, नुवाकोट र धादिङलगायत बाढी प्रभावित क्षेत्रबाट संकलन गरिएका शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएको थियो। काठमाडौँ प्रहरीका अनुसार पहिचान खुलेका १३ मध्ये १२ शव परिवारले बुझेर अन्त्येष्टि गरिसकेका छन् भने एक शव परिवारलाई हस्तान्तरण गर्ने प्रक्रिया चलिरहेको छ।
काठमाडौँका एसएसपी दिलिप घिमिरेका अनुसार बाँकी ठूलो संख्याका शवको पहिचान अझै खुल्न सकेको छैन।
पहिचान हुन नसकेका शवमध्ये ४६ वटालाई काठमाडौँको गोकर्णेश्वर नगरपालिका–७ स्थित दक्षिणढोका जङ्गल क्षेत्रमा सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुसार स्थानीय प्रशासनको निर्णयपछि ती शवलाई आवश्यक कानुनी तथा फरेन्सिक प्रक्रिया पूरा गरेर गाडिएको हो।
भविष्यमा पहिचान खुलाउन सहज होस् भनेर व्यवस्थापन गर्नुअघि प्रत्येक शव तथा प्राप्त अवशेषबाट डीएनए नमुना संकलन गरिएको छ। त्यससँगै सम्भव भएसम्म फिंगरप्रिन्ट र आवश्यक तस्बिरसमेत सुरक्षित राखिएको प्रशासनले जनाएको छ।
भोटेकोशीमा आएको विनाशकारी बाढीले ठूलो मानवीय क्षति पुर्याएपछि विभिन्न स्थानबाट शव फेला पर्ने क्रम जारी छ। धेरै शवको पहिचान खुल्न नसकेकाले बेपत्ता परिवारका आफन्तसँग डीएनए मिलानसहितका प्रक्रिया महत्वपूर्ण हुने देखिएको छ।
बाढी प्रभावित क्षेत्रमा अझै बेपत्ताको खोजी जारी रहेकाले आगामी दिनमा शव पहिचान र व्यवस्थापनको चुनौती थपिन सक्ने देखिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।