शुक्रबार, भाद्र १९,२०८३ 12:45:18
Bizshala
  • शुक्रबार, भाद्र १९,२०८३ 12:45:18
Bizshala
Global IME Bank Limited

नौ दिनमै आशा मार्ने बेला होइन, विश्वमा ६९ दिनपछि पनि भएका छन् जीवित उद्धार

त्रिशूली-३ ‘ए’बाट २१६ घण्टापछि कबीर र सञ्जयको उद्धार; भारतमा १७ दिनपछि ४१ र चिलीमा ६९ दिनपछि ३३ मजदुर जीवितै निकालिएका थिए

नौ दिनमै आशा मार्ने बेला होइन, विश्वमा ६९ दिनपछि पनि भएका छन् जीवित उद्धार
New Office

काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका सञ्जय साह र कबीर महर्जनलाई नौ दिनपछि जीवितै उद्धार गरिएको घटनाले विश्वका केही ऐतिहासिक भूमिगत उद्धार अभियानको स्मरण गराएको छ।

बाढीले सुरुङको प्रवेशद्वार लेदो, ढुंगा र भग्नावशेषले पुरेपछि उनीहरू बाहिरी संसारसँग सम्पर्कविहीन भएका थिए। उद्धार टोलीले शुक्रबार बिहान सुरुङभित्रबाट आवाज सुनेपछि जीवित मानिस रहेको पुष्टि गरेको थियो। त्यसपछि नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा प्राविधिकहरूको संयुक्त टोलीले उनीहरूलाई करिब १७० मिटरभित्रबाट बाहिर निकालेको हो।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

सुरुमा उद्धार गरिएका सञ्जयको स्वास्थ्य अवस्था सामान्य छ। दोस्रोपटक निकालिएका कबीरको अवस्था भने जटिल रहेकाले छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा सघन उपचार भइरहेको छ। लामो समय अन्धकार, चिसो, सीमित हावा र खानेकुराविहीन अवस्थामा बिताएका उनीहरू जीवित भेटिनुलाई सामान्य संयोगभन्दा पनि मानवीय सहनशीलता र निरन्तर उद्धार प्रयासको असाधारण उपलब्धिका रूपमा हेरिएको छ।

तर नौ दिनसम्म सुरुङभित्र फसेर जीवित फर्किने घटना विश्वमा यो पहिलो भने होइन। यसअघि निर्माणाधीन सुरुङ, बाढी पसेका खानी र गुफाभित्र फसेका मानिसहरू कैयौँ दिनपछि जीवितै उद्धार भएका उदाहरण छन्।

चिलीः ६९ दिनपछि ३३ जनाको उद्धार

भूमिगत उद्धारको इतिहासमा सबैभन्दा चर्चित घटना सन् २०१० को चिलीस्थित सान होजे खानी दुर्घटना हो। अगस्ट ५ मा तामा तथा सुन खानी भत्किँदा ३३ मजदुर अटाकामा मरुभूमिको सतहभन्दा करिब ७०० मिटर तल फसेका थिए।

दुर्घटना भएको १७ दिनपछि ड्रिलमार्फत उनीहरू जीवित रहेको पत्ता लागेको थियो। त्यो अवधिमा मजदुरहरूले अत्यन्त थोरै खानेकुरा बाँडेर जीवन धानेका थिए। सम्पर्क स्थापित भएपछि सानो प्वालबाट खाना, पानी, औषधि र सञ्चार उपकरण पठाउन थालियो।

अन्ततः विशेष रूपमा बनाइएको ‘फिनिक्स’ उद्धार क्याप्सुल प्रयोग गरी दुर्घटनाको ६९ दिनपछि सबै ३३ जनालाई जीवितै निकालियो। अमेरिकी अन्तरिक्ष संस्था नासाले समेत उनीहरूको पोषण, मानसिक स्वास्थ्य, चिकित्सा व्यवस्थापन र उद्धार क्याप्सुलको डिजाइनमा प्राविधिक सहयोग गरेको थियो।

थाइल्यान्डः १८ दिनपछि १२ बालक र प्रशिक्षक बाहिर

सन् २०१८ मा थाइल्यान्डको थाम लुआङ गुफामा अचानक बाढी पसेपछि किशोर फुटबल टोलीका १२ खेलाडी र उनीहरूका प्रशिक्षक भित्रै थुनिएका थिए।

जुन २३ मा गुफा प्रवेश गरेको टोलीलाई नौ दिनपछि बेलायती गोताखोरहरूले जीवित फेला पारेका थिए। तर भेटिनु र बाहिर निकालिनु अलग चुनौती बन्यो। गुफाका साँघुरा मार्ग पानीले भरिएका थिए र बालकहरूलाई पौडी तथा गोताखोरीको अनुभव थिएन।

अन्तर्राष्ट्रिय गोताखोर, चिकित्सक, सैनिक र उद्धार विज्ञ परिचालन गरी तीन दिन लगाएर सबैलाई पालैपालो बाहिर ल्याइयो। अन्तिम सदस्य गुफा प्रवेश गरेको १८औँ दिनमा बाहिर निस्किएका थिए। यद्यपि उद्धार तयारीका क्रममा पूर्वथाई नेभी सिल सामन गुनानको मृत्यु भएको थियो।

भारतः सिल्क्यारा सुरुङबाट १७ दिनपछि ४१ श्रमिक

नेपालको त्रिशूली–३ ‘ए’ घटनासँग संरचनागत रूपमा बढी मिल्ने उदाहरण भारतको उत्तराखण्डस्थित सिल्क्यारा–बारकोट सुरुङ दुर्घटना हो।

सन् २०२३ नोभेम्बर १२ मा निर्माणाधीन सुरुङको करिब ६० मिटर भाग भत्किएपछि ४१ मजदुर भित्र थुनिएका थिए। उनीहरू रहेको करिब दुई किलोमिटर लामो सुरक्षित भागमा बिजुली र पानी उपलब्ध थियो। साँघुरो पाइपबाट अक्सिजन, औषधि, खाना र सञ्चार सुविधा पुर्‍याइएको थियो।

ठूलो ड्रिलिङ मेसिन पटक–पटक बिग्रिएपछि अन्तिम भाग हातैले खन्ने ‘र्‍याट–होल’ प्रविधि प्रयोग गरिएको थियो। लगातार १७ दिनको प्रयासपछि नोभेम्बर २८ मा सबै ४१ जनालाई जीवितै उद्धार गरियो।

त्यस अभियानमा संलग्न अस्ट्रेलियाली सुरुङ विज्ञ प्राध्यापक अर्नोल्ड डिक्सले नेपालमा जारी उद्धार प्रयासमा पनि टाढाबाट प्राविधिक परामर्श दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

अस्ट्रेलियाः जमिनमुनि १४ दिनपछि हिँडेरै बाहिरिए दुई मजदुर

सन् २००६ मा अस्ट्रेलियाको तास्मानियास्थित बिकन्सफिल्ड सुनखानी भत्किँदा ब्रान्ट वेब र टड रसेल करिब ९२५ मिटरमुनि रहेको सानो धातुको पिँजडामा फसेका थिए।

उद्धारकर्ताले उनीहरूसम्म पुग्न कंक्रिटभन्दा निकै कडा चट्टान छेड्दै करिब १६ मिटर लामो उद्धार मार्ग बनाउनुपरेको थियो। सम्पर्क स्थापित भएपछि सानो पाइपबाट खाना, पानी, कपडा र अन्य सामग्री पठाइएको थियो।

चौध दिनपछि दुवै मजदुर जीवितै बाहिरिए। आश्चर्यजनक रूपमा उनीहरू बाहिर निस्किएपछि हिँडेरै आफ्ना परिवारसम्म पुगेका थिए।

चीनः बाढी पसेको खानीबाट आठ दिनपछि ११५ जनाको उद्धार

नेपालको घटनासँग प्रकृतिका हिसाबले सबैभन्दा नजिक देखिने उदाहरण चीनको सान्सी प्रान्तस्थित वाङ्जियालिङ कोइलाखानी दुर्घटना हो।

सन् २०१० मार्च २८ मा निर्माणाधीन खानीले पानी भरिएको पुरानो सुरुङ छेडेपछि ठूलो परिमाणमा पानी पसेको थियो। त्यसबेला जमिनमुनि रहेका २६१ जनामध्ये १५३ जना भित्रै फसेका थिए।

करिब तीन हजार उद्धारकर्मीले लगातार पानी निकाल्ने, प्वाल खन्ने तथा हावा र ग्लुकोज पठाउने काम गरेका थिए। केही मजदुरले रुखको बोक्रा खाएर र धमिलो पानी पिएर जीवन धानेका थिए। आठ दिन र आठ रातपछि ११५ मजदुर जीवितै निकालिए।

दक्षिण कोरियाः नौ दिनपछि हिँडेरै निस्किए दुई खानी मजदुर

सन् २०२२ अक्टोबरमा दक्षिण कोरियाको बोङ्ह्वास्थित जस्ता खानी पहिरोका कारण भत्किँदा ६२ र ५६ वर्षका दुई मजदुर करिब १९० मिटर तल फसेका थिए।

उनीहरूले साथमा रहेको ‘इन्स्ट्यान्ट कफी मिक्स’ खाएर जीवन धाने। चिसोबाट बच्न प्लास्टिकले अस्थायी पाल बनाए। लगातार नौ दिनभन्दा बढी समयपछि उद्धार मार्गबाट उनीहरू हिँडेरै बाहिर निस्किए। अस्पताल पुर्‍याइएका दुवैको स्वास्थ्य अपेक्षाभन्दा राम्रो रहेको चिकित्सकहरूले बताएका थिए।

मानिस कसरी यति लामो समय बाँच्छन्?

भूमिगत दुर्घटनामा जीवित रहने सम्भावना समयले मात्रै निर्धारण गर्दैन। सुरुङ वा खानीभित्र श्वास फेर्न मिल्ने हावा, पिउनयोग्य पानी, शरीरलाई अत्यधिक चिसो वा गर्मीबाट जोगाउने स्थान र बाढी नपुगेको सुरक्षित खाली भाग भए लामो समयसम्म बाँच्ने सम्भावना रहन्छ।

चिली र भारतमा बाहिरबाट पाइपमार्फत खाना, पानी, अक्सिजन र औषधि पठाउन सकिएको थियो। थाइल्यान्डमा बालकहरू बाढी नपुगेको अग्लो चट्टानी भागमा बसेका थिए। चीनमा ड्रिल गरिएको प्वालबाट हावा र ग्लुकोज पठाइयो। दक्षिण कोरियाका मजदुरले थोरै कफी पाउडर बाँडेर र प्लास्टिकको पाल बनाएर शरीरको तापक्रम जोगाए।

त्रिशूली–३ ‘ए’का सञ्जय र कबीरको उद्धारले पनि नौ दिन बितिसक्दैमा सुरुङभित्र जीवनको सम्भावना समाप्त नहुने पुष्टि गरेको छ। खासगरी हावा पुग्ने ‘एयर पकेट’, पानी नपसेको माथिल्लो भाग वा सुरक्षित कक्षसम्म मानिस पुगेको भए थप व्यक्तिहरू जीवित भेटिने आशा अझै कायम रहन्छ।

कबीरको स्वास्थ्य अवस्था जटिल हुनु भने लामो समयको भूमिगत बसाइपछि उद्धार सम्पन्न हुनु मात्रै अन्तिम सफलता नभएको संकेत हो। शरीरमा पानीको कमी, तापक्रममा आएको गिरावट, चोटपटक, संक्रमण, मांसपेशी तथा स्नायुमा परेको असर र अचानक खाना खुवाउँदा उत्पन्न हुन सक्ने जटिलताका कारण उद्धारपछिको उपचार पनि उत्तिकै संवेदनशील हुन्छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.