काठमाण्डौ । मुक्तिनाथ क्लाइमेट केयर लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६ लाख रुपैयाँ सहयोग गरेको छ। गत भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण टिमुरे, स्याफ्रुबेँसी, बेत्रावती, त्रिशूली र देवीघाटलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएकोप्रति कम्पनीले दुःख व्यक्त गरेको छ।
उक्त बाढीबाट तटीय क्षेत्रमा बसोबास गर्ने तथा काम र भ्रमणका सिलसिलामा ती क्षेत्रमा पुगेका स्वदेशी तथा विदेशी नागरिकसमेत प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा प्रभावित भएको कम्पनीले जनाएको छ। विपद्का क्रममा ज्यान गुमाउने सम्पूर्ण मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै कम्पनीले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।
प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले मुक्तिनाथ कृषि परिवारको तर्फबाट जलवायु क्षेत्रमा कार्यरत कम्पनी मुक्तिनाथ क्लाइमेट केयर लिमिटेडले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेको हो।
कम्पनीले देशमा आइपरेको विषम परिस्थितिमा बाढी तथा पहिरोपीडित परिवारलाई सहयोग गर्नु र उनीहरूको उद्धार तथा पुनःस्थापनामा हातेमालो गर्नु निजी क्षेत्र तथा संघ–संस्थाको सामाजिक उत्तरदायित्व भएको जनाएको छ।
मुक्तिनाथ क्लाइमेट केयर लिमिटेड कार्बन व्यापार, जलवायु परामर्श तथा हरित लगानीमार्फत जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने उद्देश्यसहित दिगो कृषि तथा वातावरण संरक्षणका क्षेत्रमा कार्यरत रहेको जनाएको छ।
कम्पनीले आगामी दिनमा समेत विपद् पूर्वतयारी, दिगो विकास, प्रभावित नागरिकलाई सहयोग, वातावरण संरक्षण तथा समुदायको हितका लागि आवश्यक सहकार्य र संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।