काठमाडौं। नेपालको सेयर बजारको नियमित कारोबार सोमबार अचानक बन्द हुनुको गम्भीर कारण खुलेको छ। ७२ वटा ब्रोकर कम्पनीले प्रयोग गर्दै आएको डेटा हबको डेटा सेन्टरमा एकैपटक ठूलो साइबर आक्रमणको प्रयास भएपछि सम्भावित क्षति रोक्न कारोबार प्रणाली नै बन्द गरिएको हो।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रवक्ता मुराहरि पराजुलीले डेटा हबको डेटा सेन्टर तथा क्लाउड सेवामा साइबर आक्रमणको प्रयास भएको प्रारम्भिक जानकारी प्राप्त भएको बिजशालालाई बताए। उनका अनुसार सम्भावित मालवेयर थप फैलिन नदिन प्रणाली सञ्चालनमा नल्याइएको हो।
‘डेटा हबको डेटा सेन्टरमा समस्या आएको हो। ७२ वटा ब्रोकरले टीएमएस सञ्चालन गर्न डेटा हबको क्लाउड सेवा प्रयोग गर्छन्,’ पराजुलीले बिजशालासँग भने, ‘त्यहाँका प्राविधिकहरूका अनुसार डेटा सेन्टरमा एकैपटक ठूलो साइबर आक्रमण भएपछि अचानक यस्तो समस्या देखिएको हो।’
संवेदनशील सूचना र प्रणाली नै निशानामा
प्रारम्भिक विवरणअनुसार साइबर आक्रमणकारीले ७२ वटा ब्रोकर कम्पनीमा आबद्ध लगानीकर्ताका संवेदनशील सूचना तथा सम्पूर्ण प्रणालीमा अनधिकृत पहुँच स्थापित गर्ने प्रयास गरेका थिए। त्यसका लागि प्रणालीमा मालवेयर पठाइएको जानकारी आएको प्रवक्ता पराजुलीले बताए।
मालवेयर अन्य प्रणालीमा समेत फैलिन सक्ने जोखिम देखिएपछि डेटा सेन्टर र क्लाउड सेवा तत्काल सञ्चालनमा नल्याइएको उनको भनाइ छ।
‘ह्याकरहरूले ७२ वटा ब्रोकरमा आबद्ध लगानीकर्ताका संवेदनशील सूचना र पूरा प्रणाली ह्याक गर्ने प्रयास गर्दै मालवेयर पठाएको जानकारी आएको छ,’ उनले भने, ‘त्यो थप फैलिन नदिन प्रणाली नखोलिएको र पूरै बन्द गर्नुपरेको हो।’
ब्रोकर कम्पनीहरूले डेटा हबबाट डेटा सेन्टर तथा क्लाउड सेवा लिजमा लिएर टीएमएस सञ्चालन गर्दै आएका छन्। समस्या सोही पूर्वाधारमा देखिएको हो।
लुकेको मालवेयरबाट फेरि आक्रमण हुन सक्ने जोखिम
प्रवक्ता पराजुलीका अनुसार प्रभावित प्रणालीको प्रारम्भिक जाँच एक चरणमा पूरा भइसकेको छ। तर, प्रणालीको कुनै भागमा मालवेयर लुकेर बसेको हुन सक्ने र पछि पुनः सक्रिय भएर आक्रमण गर्न सक्ने जोखिम टरिसकेको छैन।
यही जोखिमका कारण हतारमा प्रणाली सञ्चालन नगरी दिनभर विस्तृत प्राविधिक परीक्षण गर्ने निर्णय गरिएको उनले बताए।
‘अहिलेसम्म प्राप्त जानकारीअनुसार एकपटक सबै जाँच भइसकेको छ,’ उनले भने, ‘तर कतै मालवेयर लुकेको रहेछ भने पुनः आक्रमण हुन सक्ने जोखिम छ। त्यसैले आज दिनभर कारोबार बन्द गरेर समस्यालाई जरैदेखि समाधान गर्ने प्रयास भइरहेको छ।’
प्राविधिक समस्या पूर्ण रूपमा समाधान नगरी कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने जोखिम देखिएको थियो। त्यसैले ब्रोकर कम्पनीहरूको अनुरोधमा सोमबारको नियमित कारोबार बन्द गर्नुपरेको पराजुलीले स्पष्ट पारे।
ब्रोकर एसोसिएसनले पनि गर्यो साइबर आक्रमणको पुष्टि
स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालले पनि डेटा हबको सर्भरमा साइबर आक्रमण भएपछि अचानक समस्या देखिएको जानकारी आफूहरूले पाएको बताए।
उनका अनुसार साइबर आक्रमणपछि उत्पन्न जोखिम नियन्त्रण गर्न र प्रणालीको सुरक्षा सुनिश्चित गर्न प्राविधिक परीक्षण भइरहेको छ।
यद्यपि, आक्रमणकारीले लगानीकर्ताका सूचना वा प्रणालीमा वास्तविक पहुँच स्थापित गर्न सफल भए–नभएको तथा कुनै तथ्यांक चोरी वा क्षति भए–नभएको विषयमा विस्तृत प्राविधिक प्रतिवेदन सार्वजनिक हुन बाँकी छ। प्रारम्भिक जानकारीले भने नेपालको पुँजीबजारसँग जोडिएको सूचना प्रविधि पूर्वाधारको सुरक्षा र आकस्मिक जोखिम व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।