काठमाण्डौ । बेस्ट फाइनान्स कम्पनी चालु आर्थिक वर्षको पहिलो त्रैमासमा घाटाबाट नाफामा फर्किएको छ। खुद ब्याज आम्दानीमा सुधार र सम्भावित नोक्सानीबापतको व्यवस्था रिभर्सल हुँदा कम्पनीले नाफामा पुनरागमन गरेको हो। यद्यपि सञ्चित वितरणयोग्य नाफा अझै ठूलो रकमले ऋणात्मक रहेको छ।
कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म २ करोड १४ लाख ३२ हजार रुपैयाँ खुद नाफा आर्जन भएको छ। बैंकिङ व्यवसायबाट हुने खुद ब्याज आम्दानी पनि उल्लेख्य बढेको छ। अघिल्लो वर्षको पहिलो त्रैमासमा ३ करोड २२ लाख रुपैयाँ रहेको यस्तो आम्दानी यसपटक ४५.५६ प्रतिशतले बढेर ४ करोड ६९ लाख रुपैयाँ पुगेको छ।
कम्पनीको कुल ब्याज आम्दानी ४.३१ प्रतिशतले घटेको छ। तर ब्याज खर्च २१.१० प्रतिशतले घट्दा खुद ब्याज आम्दानी बढेको हो।कम्पनीको कोषको लागत ६.१७ प्रतिशतबाट घटेर ४.४२ प्रतिशतमा आएको छ। आधारदर पनि ९.५८ प्रतिशतबाट घटेर ७.४८ प्रतिशतमा सीमित भएको छ। ब्याजदर अन्तर अर्थात् स्प्रेडदर भने ४.३९ प्रतिशतबाट सामान्य घटेर ४.३४ प्रतिशत कायम भएको छ।
शुल्क तथा कमिसनबाट हुने खुद आम्दानी भने २०.०१ प्रतिशतले घटेर ४२ लाख ४७ हजार रुपैयाँमा सीमित भएको छ। अन्य सञ्चालन आम्दानी पनि २६.८१ प्रतिशतले घटेको छ। यी शीर्षकमा गिरावट आए पनि खुद ब्याज आम्दानीको सुधारले कुल सञ्चालन आम्दानी २९.३७ प्रतिशतले बढेर ५ करोड ४५ लाख रुपैयाँ पुगेको छ।
कर्मचारी खर्च र अन्य सञ्चालन खर्चमा आएको कमीले पनि वित्तीय नतिजालाई सहयोग गरेको छ। कर्मचारी खर्च ७.९१ प्रतिशत र अन्य सञ्चालन खर्च २५.५९ प्रतिशतले घटेको छ। ह्रासकट्टी तथा अमोर्टाइजेसन खर्च बढे पनि यी तीन शीर्षकको समग्र खर्च ६.१९ प्रतिशतले घटेको छ। कम्पनीले समीक्षा अवधिमा ३ करोड ५ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको छ।
असोज मसान्तमा कम्पनीको सञ्चित वितरणयोग्य नाफा ४४ करोड १६ लाख ७९ हजार रुपैयाँ ऋणात्मक रहेको छ। असार मसान्तमा यस्तो रकम ४५ करोड ५५ लाख ८९ हजार रुपैयाँ ऋणात्मक थियो। तीन महिनामा सञ्चित वितरणयोग्य घाटा करिब १ करोड ३९ लाख रुपैयाँले घटेको हो।
खुद नाफा सकारात्मक भएसँगै कम्पनीको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी ९.६३ रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको यही अवधिमा यस्तो आम्दानी २४.५८ रुपैयाँ ऋणात्मक थियो। प्रतिसेयर नेटवर्थ पनि असार मसान्तको ११३.०८ रुपैयाँबाट बढेर असोज मसान्तमा ११५.१३ रुपैयाँ पुगेको छ।
कम्पनीको निष्क्रिय कर्जा अनुपात अघिल्लो वर्षको पहिलो त्रैमासको १०.१९ प्रतिशतबाट घटेर ९.७३ प्रतिशतमा आएको छ। निष्क्रिय कर्जाको तुलनामा गरिएको कुल कर्जा नोक्सानी व्यवस्थाको अनुपात पनि ७२.५३ प्रतिशतबाट बढेर ७८.९६ प्रतिशत पुगेको छ। व्यवस्थापनले कर्जा असुलीमा केही सुधार आएको उल्लेख गरेको छ।
व्यवसाय विस्तारतर्फ असार मसान्तको तुलनामा निक्षेप १.९८ प्रतिशतले बढेर ६ अर्ब ४३ करोड १९ लाख रुपैयाँ पुगेको छ। यही अवधिमा ग्राहकलाई प्रवाह गरिएको कर्जा ४.४२ प्रतिशतले बढेर ४ अर्ब ३६ करोड ८३ लाख रुपैयाँ पुगेको छ। कम्पनीको कर्जा–निक्षेप अनुपात ७१.५५ प्रतिशत कायम भएको छ।
८९ करोड ४ लाख २४ हजार रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको पुँजीकोष अनुपात १५.८२ प्रतिशतबाट बढेर १६.२३ प्रतिशत पुगेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।