काठमाण्डौ । हिमालयन बैंकको खुद नाफा घट्नुका साथै खराब कर्जा र पुँजी पर्याप्तताका सूचकमा दबाब देखिएको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको मुख्य आम्दानीको स्रोत खुद ब्याज आम्दानी घटेको छ। कर्जा नोक्सानी व्यवस्थाको खर्च उल्लेख्य घटे पनि त्यसले नाफाको गिरावट रोक्न सकेको छैन।
बैंकको एकल वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ६५ करोड ४८ लाख ३१ हजार रुपैयाँ खुद नाफा भएको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिमा बैंकले ७० करोड २८ लाख ९४ हजार रुपैयाँ नाफा कमाएको थियो। यस आधारमा खुद नाफा ६.८४ प्रतिशतले घटेको छ।
खुद ब्याज आम्दानीमा आएको गिरावटले बैंकको कमाइलाई प्रभावित गरेको देखिन्छ। अघिल्लो वर्षको पहिलो त्रैमासमा २ अर्ब ५० करोड ७१ लाख रुपैयाँ रहेको यस्तो आम्दानी यसपटक १२.३० प्रतिशतले घटेर २ अर्ब १९ करोड ८६ लाख रुपैयाँमा सीमित भएको छ। बैंकले यस शीर्षकबाट गत वर्षभन्दा करिब ३० करोड ८४ लाख रुपैयाँ कम कमाएको हो।
शुल्क तथा कमिसनबाट हुने खुद आम्दानी भने ५.५५ प्रतिशतले बढेर २४ करोड ८४ लाख रुपैयाँ पुगेको छ। खुद ट्रेडिङ आम्दानी २० करोड ६४ लाख रुपैयाँ रहेको छ। यद्यपि यी आम्दानीले ब्याजतर्फको कमी पूर्ति गर्न नसक्दा कुल सञ्चालन आम्दानी ९.५६ प्रतिशतले घटेर २ अर्ब ७६ करोड २४ लाख रुपैयाँमा झरेको छ।
बैंकको करअघिको नाफा १०.५९ प्रतिशतले घटेर ९३ करोड १८ लाख रुपैयाँ कायम भएको छ। निष्क्रिय कर्जाको तुलनामा कुल कर्जा नोक्सानी व्यवस्थाको अनुपात भने १०८.३७ प्रतिशतबाट बढेर १२१.३१ प्रतिशत पुगेको छ।
वितरणयोग्य नतिजा ५५ करोड ३४ लाख रुपैयाँले ऋणात्मक थियो। ब्याज तथा अन्य नियामकीय समायोजनको भार कम हुँदा यसपटक त्रैमासिक वितरणयोग्य कमाइ धनात्मक बनेको हो।
तर पुरानो सञ्चित घाटाका कारण कुल वितरणयोग्य रकम अझै ठूलो परिमाणमा ऋणात्मक छ। असोज मसान्तमा बैंकको सञ्चित वितरणयोग्य घाटा ९ अर्ब ७९ करोड ८५ लाख रुपैयाँ रहेको छ। गत असार मसान्तमा यस्तो घाटा ९ अर्ब ८२ करोड ३८ लाख रुपैयाँ थियो। चालु त्रैमासको धनात्मक कमाइले असारको तुलनामा घाटा केही घटाएको छ। यद्यपि अघिल्लो वर्षको पहिलो त्रैमासमा रहेको ७ अर्ब ५४ करोड ६४ लाख रुपैयाँ घाटाको तुलनामा हालको सञ्चित घाटा २९.८४ प्रतिशत बढी छ।
पुँजी पर्याप्तताका सूचक पनि कमजोर भएका छन्। अघिल्लो वर्षको पहिलो त्रैमासमा १२.२९ प्रतिशत रहेको पुँजी पर्याप्तता अनुपात यसपटक ११.१९ प्रतिशतमा झरेको छ। प्राथमिक पुँजी अनुपात पनि ८.६८ प्रतिशतबाट घटेर ८.०३ प्रतिशत कायम भएको छ। बैंक व्यवस्थापनले उच्च निष्क्रिय कर्जा, गैरबैंकिङ सम्पत्ति र असुल नभएको ब्याजबापत राख्नुपर्ने नियामकीय व्यवस्थाले पुँजी तथा वितरणयोग्य नाफामा दबाब परेको उल्लेख गरेको छ।
व्यवसाय विस्तारतर्फ गत असार मसान्तको तुलनामा ग्राहकलाई दिएको कर्जाको खुद मौज्दात २.०१ प्रतिशतले बढेर २ खर्ब ३२ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ। निक्षेप भने ०.५९ प्रतिशतले बढेर ३ खर्ब ५३ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ। कर्जा–निक्षेप अनुपात अघिल्लो वर्षको पहिलो त्रैमासको ७६.१५ प्रतिशतबाट घटेर ७१.४६ प्रतिशत कायम भएको छ।
बैंकको कोषको लागत ४.२६ प्रतिशतबाट घटेर ३.४८ प्रतिशतमा आएको छ। औसत आधार दर पनि ६.०८ प्रतिशतबाट घटेर ५.०४ प्रतिशत कायम भएको छ। ब्याजदर अन्तर भने ३.३४ प्रतिशतबाट साँघुरिएर २.७८ प्रतिशतमा झरेको छ।
२२ अर्ब ५८ करोड रुपैयाँ चुक्तापुँजी रहेको बैंकको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी १२.४५ रुपैयाँबाट घटेर ११.६० रुपैयाँ कायम भएको छ। प्रतिसेयर नेटवर्थ १८०.४२ रुपैयाँ रहेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।