काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा जीवन बीमा कम्पनीहरुको व्यवसाय उत्साहजनक रूपमा विस्तार भएको छ। सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीले असोज मसान्तसम्म कुल ५७ अर्ब ५२ करोड २० लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्।
गत आर्थिक वर्षको यही अवधिमा यी कम्पनीहरुले ४९ अर्ब २२ करोड ९३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए। यस आधारमा एक वर्षमै जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क १६.८५ प्रतिशतले बढेको छ।
कम्पनीगत विवरण हेर्दा अधिकांश जीवन बीमकको व्यवसाय दोहोरो अंकले विस्तार भएको छ। १४ मध्ये ११ कम्पनीको बीमाशुल्क वृद्धिदर १० प्रतिशतभन्दा माथि छ भने ८ कम्पनीले २० प्रतिशतभन्दा बढी वृद्धि हासिल गरेका छन्।
बीमाशुल्क रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्सले बजारमा अग्रता कायम राखेको छ। त्यसपछि नेशनल लाइफ, एलआईसी नेपाल, हिमालयन लाइफ र राष्ट्रिय जीवन बीमा कम्पनी ठूला व्यवसाय गर्ने कम्पनीको अग्रपंक्तिमा छन्।
तर वृद्धिदरका आधारमा भने आइएमई लाइफ सबैभन्दा आक्रामक देखिएको छ। कम्पनीले गत वर्षको पहिलो त्रैमासमा १ अर्ब ५१ करोड ५४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेकोमा चालु वर्षको सोही अवधिमा ४३.२० प्रतिशतले बढाएर करिब २ अर्ब १७ करोड रुपैयाँ पुर्याएको छ।
प्रभु महालक्ष्मी लाइफको व्यवसाय पनि उल्लेख्य विस्तार भएको छ। कम्पनीको बीमाशुल्क गत वर्षको करिब १ अर्ब ४० करोड रुपैयाँबाट ३१.४१ प्रतिशत बढेर करिब १ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ।
नेशनल लाइफले पनि बलियो वृद्धि हासिल गरेको छ। गत वर्ष ५ अर्ब ६८ करोड ४७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको कम्पनीले चालु वर्षको पहिलो तीन महिनामा २९.५१ प्रतिशत बढाउँदै ७ अर्ब ३६ करोड २६ लाख रुपैयाँ पुर्याएको छ।
त्यस्तै रिलायबल नेपाल लाइफको बीमाशुल्क २७.०७ प्रतिशत, सन नेपाल लाइफको २५ प्रतिशत, सानिमा रिलायन्स लाइफको २३.८० प्रतिशत, एशियन लाइफको २२.६० प्रतिशत र सूर्यज्योति लाइफको २२.०३ प्रतिशतले बढेको छ।
हिमालयन लाइफको बीमाशुल्क १६.१२ प्रतिशत, सिटिजन लाइफको १५.६८ प्रतिशत र मेट लाइफको १२.१९ प्रतिशतले वृद्धि भएको छ।
ठूला व्यवसाय भएका कम्पनीमध्ये एलआईसी नेपालको बीमाशुल्क ९.५२ प्रतिशत र नेपाल लाइफको ९.४७ प्रतिशतले बढेको छ। राष्ट्रिय जीवन बीमा कम्पनीको वृद्धिदर भने ६.६१ प्रतिशतमा सीमित रहेको छ।
पहिलो त्रैमासको तथ्यांकले समग्र जीवन बीमा बजार विस्तार भइरहेको देखाए पनि वृद्धिदरमा भने नयाँ तथा तुलनात्मक रूपमा साना कम्पनीहरु बढी आक्रामक देखिएका छन्। ठूला कम्पनीले बीमाशुल्क रकममा बजारको नेतृत्व गरिरहँदा नयाँ कम्पनीहरुले तीव्र वृद्धिमार्फत आफ्नो बजार हिस्सा बढाउने प्रतिस्पर्धा तीव्र बनाएका छन्।



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।