काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय उल्लेख्य रूपमा विस्तार भएको छ। नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार असोज मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरूले कुल १५ अर्ब ५४ करोड ५१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।
गत आर्थिक वर्षको सोही अवधिमा निर्जीवन बीमा कम्पनीहरूले १२ अर्ब ६५ करोड ६४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए। यस आधारमा एक वर्षको अवधिमा निर्जीवन बीमा व्यवसाय २२.८२ प्रतिशतले बढेको देखिन्छ।
व्यवसायको आकारका आधारमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) सबैभन्दा अगाडि देखिएको छ। कम्पनीले असोजसम्म १ अर्ब ८३ करोड ५३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। गत वर्षको यही अवधिमा कम्पनीको बीमाशुल्क १ अर्ब ४९ करोड ८३ लाख रुपैयाँ थियो। कम्पनीको व्यवसाय २२.५० प्रतिशतले बढेको हो।
दोस्रो स्थानमा रहेको शिखर इन्स्योरेन्सले १ अर्ब ७९ करोड ३६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। गत वर्ष १ अर्ब ३८ करोड ४६ लाख रुपैयाँ रहेको कम्पनीको व्यवसाय यसपटक २९.५४ प्रतिशतले बढेको छ।
हिमालयन एभरेष्ट इन्स्योरेन्सले पनि व्यवसायमा आक्रामक वृद्धि गरेको छ। कम्पनीको बीमाशुल्क १ अर्ब १९ करोड ६६ लाख रुपैयाँबाट ३४.५४ प्रतिशतले बढेर १ अर्ब ६० करोड ९९ लाख रुपैयाँ पुगेको छ।
प्रतिशत वृद्धिका आधारमा भने एनएलजी इन्स्योरेन्स सबैभन्दा अगाडि देखिएको छ। कम्पनीले गत वर्षको १ अर्ब २ करोड ५६ लाख रुपैयाँको तुलनामा व्यवसाय ४५.४६ प्रतिशतले बढाउँदै १ अर्ब ४९ करोड १८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ।
त्यस्तै आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ३४.२९ प्रतिशतको वृद्धि गर्दै १ अर्ब ३३ करोड ४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। गत वर्ष कम्पनीले ९९ करोड ६ लाख रुपैयाँ बीमाशुल्क उठाएको थियो।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको व्यवसाय भने ७.७७ प्रतिशतले बढेको छ। कम्पनीले गत वर्षको १ अर्ब २२ करोड ४३ लाख रुपैयाँबाट बढाएर यस वर्ष १ अर्ब ३१ करोड ९५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ।
त्यस्तै नेको इन्स्योरेन्सको बीमाशुल्क २४.७५ प्रतिशतले बढेर १ अर्ब १५ करोड ८१ लाख रुपैयाँ पुगेको छ। गत वर्ष कम्पनीले ९२ करोड ८३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो।
दि ओरियण्टल इन्स्योरेन्सको व्यवसाय २४.६० प्रतिशतले बढ्दै ९८ करोड २४ लाख रुपैयाँ पुगेको छ भने युनाइटेड अजोड इन्स्योरेन्सले ८.९६ प्रतिशत वृद्धिसहित ९६ करोड २० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ।
यसैगरी नेपाल इन्स्योरेन्सले ८२ करोड ४१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। कम्पनीको व्यवसाय १६.७० प्रतिशतले बढेको हो। सानिमा जीआईसी इन्स्योरेन्सको बीमाशुल्क ५.३६ प्रतिशतले बढेर ७१ करोड ८३ लाख रुपैयाँ पुगेको छ भने प्रभु इन्स्योरेन्सको व्यवसाय ५.३८ प्रतिशत बढेर ५३ करोड २८ लाख रुपैयाँ पुगेको छ।
सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले पनि व्यवसाय २२.५२ प्रतिशतले विस्तार गर्दै ५० करोड ७४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। गत वर्ष कम्पनीको बीमाशुल्क ४१ करोड ४१ लाख रुपैयाँ थियो।
त्यस्तै नेशनल इन्स्योरेन्सले ४७ करोड ८८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। गत वर्षको ४२ करोड ८४ लाख रुपैयाँको तुलनामा कम्पनीको व्यवसाय ११.७६ प्रतिशतले बढेको हो।
समग्र तथ्यांकले चालु आर्थिक वर्षको सुरुवाती तीन महिनामै अधिकांश निर्जीवन बीमा कम्पनीको व्यवसाय बढेको देखाएको छ। व्यवसायको आकारमा सलिको र शिखर अगाडि हुँदा वृद्धिदरमा एनएलजी, हिमालयन एभरेष्ट र आईजीआई प्रुडेन्सियल तुलनात्मक रूपमा आक्रामक देखिएका छन्।



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।