काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका विषयमा छलफल गर्न मन्त्रिपरिषद् बैठक डाकेका छन् । प्रधानमन्त्रीले उक्त बैठक आज साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा डाकेका हुन् ।
उक्त बैठकमा आगामी मंसिर १७ गतेदेखि तय भएको चीन भ्रमणका विषयमा छलफल हुने जनाइएको छ । ओलीले चीन भ्रमणका क्रममा प्रस्तुत गरिने एजेण्डाबारे सुझाव लिन आजै पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, मन्त्रीहरु लगायतसँग छलफल समेत गरेका छन् । उक्त अवसरमा प्रधानमन्त्रीले चीन भ्रमणका क्रममा कुनै ऋण सम्झौता नगर्ने बताएका छन् ।
उनले बीआरआईको ऋणको चंगुलमा पर्न लागेको हल्लामा सत्यता नभएको भन्दै देशको आवश्यकता अनुसार मात्रै ऋण लिने बताए । यस विषयमा अनावश्यक हल्ला फिजाइएको समेत उनले बताए ।