काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से)दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १.११ प्रतिशत अर्थात २८.९१ अंकले बढेर २ हजार ६१२.२० विन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७८ प्रतिशतले बढेर ४४६.५६ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२८ वटा स्क्रिप्टको ८९ लाख ८ हजार ८५१ कित्ता सेयर ४ अर्ब ४३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारबारे बजार जानकार उपेन्द्र पाठक भन्छन्, ‘बजार केही समयदेखि साइडवेज नै चलिरहेको थियो । आज तल्लो मूल्यमा लगानीकर्ता पसेका कारण बजारले गति लिएको हो । यद्यपी ६–७ अर्ब भोल्युम नआएसम्म बजार बढीहाल्यो भन्न हतार हुन सक्छ । ’
उनले आजको बढोत्तरीलाई संस्थागत लगानीकर्ताले खरिद गर्दाको परिणाम भएको बताए ।
त्यसैगरी अर्का बजार जानकार अजयसिंह थापा(जयशम्भु)ले बजारमा रिभर्सल प्रकृतिको क्याण्डल बनेको र बैंकिङ क्षेत्रमा लगभग लो लागेको बताए । उनले अझै २–३ दिनको क्याण्डल हेरिसकेपछि मात्रै बजारको अवस्था निश्चित हुने बताए । ‘आधारभूत रुपमा निर्यात बढेको, नयाँ स्टक एक्सचेञ्ज आउँदै गरेको,नेप्सेको एसएमई प्लेटफर्म आउँदै गरेको जस्ता सकारात्मक विषय बजारमा व्याप्त रहेका छन् । रिभर्सलको पहिलो कारोबारमा भोल्युम कम आउनु सामान्य नै मान्न सकिन्छ । अब दोस्रा–तेस्रो क्याण्डलमा भोल्युमसहित बजार बढेको खण्डमा बजारले माथिकै यात्रा तय गर्न सक्छ ।’ उनले भने ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबैमा हरियाली छायो । आज उत्पादन तथा प्रशोधन समूहमा सर्वाधिक उछाल आयो । यो समूह आज २.६५ प्रतिशतले बढ्यो ।
यस्तै बैंकिङ समूह ०.८४ प्रतिशत,विकास बैंक १.१५, फाइनान्स १.६७,होटल ०.४३,लगानी ०.५१,जीवन बीमा ०.७३,लघुवित्त ०.८१,निर्जीवन बीमा ०.११ अन्य ०.६३ र व्यापार समूह ०.४६ प्रतिशतले बढ्यो ।
आज घट्ने एउटा मात्रै समूहको रुपमा म्युअुचल फण्ड समूह रह्यो । यो समूह आज ४.२१ प्रतिशतले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन जानकी फाइनान्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको १८ करोड ८४ लाख बढीको कारोबार भयो । जोशी हाईड्रोपावरको आज ११ करोड ७६ लाख,मोलुङ हाईड्रोको ११ करोड ५९ लाख,सपोर्ट माइक्रोफाइनान्सको ९ करोड ९२ लाख र रिभर फल्स पावरको ९ करोड ५२ लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएका ५ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज सपोर्ट माइक्रोफाइनान्स,सुपर मादी हाईड्रोपावर,बाराही हाइड्रोपावर,बलेफी हाईड्रो र नेपाल हाईड्रो डेभलपरको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।
आज मानुषी लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो । यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य ३.१६ प्रतिशत,पिपुल्स पावरको २.३१ र आत्मनिर्भर लघुवित्तको सेयरमूल्य १.८६ प्रतिशतले घट्यो ।