काठमाण्डौ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत पुस २१ गतेदेखि रु.१०० अंकित दरका १८ लाख ४५ हजार कित्ता आईपीओ निष्कासन गरेको छ ।
निष्कासनका लागि अनुमति पाएको कुल २२ लाख ५० हजार कित्तामध्ये प्रथम चरणमा १० प्रतिशत अर्थात २ लाख २५ हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रेहका नेपालीका लागि निष्कासन गरेको कम्पनीले ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५ सय कित्ता सामूहिक लगानी कोष र ३ प्रतिशत अर्थात ६७ हजार ५ सय कित्ता कर्मचारीका लागि छुट्टाई बाँकी रहेको १८ लाख ४५ हजार कित्ता आम सर्वसाधारणका लागि निष्कासन गरिएको हो ।
यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
यसका साथै लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन्। यो आईपीओका लागि कम्पनीले केयर रेटिङ नेपालबाट ‘केयर–एनपी–बीबी डबल माइनस’रेटिङ प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पुरा गर्नेमा मध्यम जोखिमलाई जनाउँछ ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले गत मंसिर १९ गतेदेखि पुस ३ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि २ लाख २५ हजार कित्ता आईपीओ जारी गरेको थियो । उक्त आईपीओ पुस ८ गते बाँडफाँड भएको थियो ।