काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.५९ प्रतिशत अर्थात १५.५४ अंकले घटेर २ हजार ५९४.१३ विन्दुमा झरेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५७ प्रतिशतले घटेर ४४१.४२ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२२ वटा स्क्रिप्टको १ करोड ३८ लाख ७० हजार ५७९ कित्ता सेयर ६ अर्ब ६५ करोड ८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारबारे अर्थशास्त्री सूर्यनारायण पौडेल भन्छन्,‘लगानीकर्ताको मनोबल घट्दा नै आज बजार घट्न पुगेको छ । बजारमा भ्रमपूर्ण नकारात्मक विषय बढी आए । नियमनकारी निकायाबाट यस्ता नकारातमक खबरलाई चिर्ने गरी नयाँ कार्यक्रमहरु नआउदा र सेबोनका अध्यक्षले पनि बजार सुधारको प्रयास नगर्दा बजारमा दबाब देखिन्छ ।’
पौडेलले बजारमा ट्रेडर हाबी हुँदा कम पूँजी भएका कम्पनी चल्ने र तीव्र नाफा बुक चलेको बताए । बजारमा घटाईमा राजनीतिक माहौल पनि मुख्य कारण रहेका उनको निष्कर्ष रहेको छ ।
आजको बजारबारे बजार जानकार अजयसिंह थापा(जयशम्भु) भन्छन्, ‘यतिबेला लगानीकर्ताको मनोबल कमजोर देखिन्छ । दोस्रो त्रैमासको प्रतिवेदन सोचेअनुरुप नआउने आँकलन भईरहेको कारण बैंकलगायतका समूहमा निरन्तर गिरावट आईरहेको छ । ’
थापाले प्राविधिक रुपमा डबल बटम बनाउन बजार २५ सयदेखि २४४० विन्दुसम्म आउन सक्ने आँकलन गरे ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा गिरावट आयो । आज व्यापार समूहमा सर्वाधिक गिरावट आयो । यो समूह आज १.८९ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.३५ प्रतिशत, विकास बैंक ०.५८, वित्त १.३२,होटल १.३६,हाईड्रोपावर ०.४९, लगानी ०.६०,जीवन बीमा ०.५०,उत्पादन तथा प्रशोधन ०.७७, लघुवित्त ०.४४,म्युचुअल फण्ड ०.४२,निर्जीवन बीमा ०.०२ र अन्य समूह ०.६७ प्रतिशतले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ४५ करोड २५ लाख बढीको कारोबार भयो । नयादी हाईड्रोको पनि आज २८ करोड २७ लाख,हिमालयन पावर पार्टनरको १५ करोड ६० लाख,सिन्धु विकास बैंकको १३ करोड ३३ लाख र सानिमा मिडिल तमोरको १२ करोड ९९ लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएका एउटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । आज बाराही हाईड्रोको सेयरमूल्य १० प्रतिशतले बढ्यो । सुपरमादी हाईड्रोको सेयरमूल्य पनि आज ८.८७ प्रतिशत,नारायणी डेभलपमेन्ट बैंकको ८.८७ प्रतिशत,सपोर्ट माइक्रोफाइनान्सको ८.४१ र नेपाल एसबीआई बैंकको सेयरमूल्य ७.३० प्रतिशतले बढ्यो ।
आत्मनिर्भर लघुवित्त र सिन्धु विकास बैंकको सेयरमूल्यमा आज लोअर सर्किट लाग्यो । यी कम्पनीको सेयरमूल्य १० प्रतिशतले घट्यो । रिभर फल्स पावरको सेयरमूल्य पनि आज ८.३६ प्रतिशत र अपरहेवा खोलाको सेयरमूल्य ४.२१ प्रतिशतले घट्यो ।