काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से)मा सामान्य अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ०.१९ प्रतिशत अर्थात ५.०८ अंकले बढेर २ हजार ६१३.०८ विन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२२ प्रतिशतले बढेर ४४०.१४ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३११ वटा स्क्रिप्टको १ करोड १६ लाख २६ हजार २० कित्ता सेयर ६ अर्ब १९ करोड १ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारबारे नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल भन्छिन् ‘बजारको हालको समग्र अवस्था हेर्दा सकारात्मक नै छ । पुस मसान्तको दबाबको अन्त्यपश्चात बजार जुन हिसाबले अघि बढ्नु पर्ने हो, त्यसरी नै बजार वृद्धि बढीहरको छ ।
पोखरेलले सरकारबाट पूँजी बजारको विकास तथा वृद्धिका लागि केही पनि पहलकदमी नचालिएका कारण लगानीकर्ताको मनोबल कमजोर बनेको उनले बताइन् ।
अर्का बजार जानकार उपेन्द्र पाठकले बजारमा लगानीकर्ताहरु निर्जीवन बीमातर्फ उन्मुख भएको देखिएको बताए । ‘यद्यपी बजार केही समय साइडवेज नै चल्न सक्ने देखिन्छ । राष्ट्र बैंकका गभर्नरको कार्यकाल समाप्तीसँगै नीतिगत परिवर्तन भएमा बजारले लय समात्ने छ,’ उनले भने ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटा बाहेक अन्य सबैमा हरियाली छायो । आज अन्य समूह सर्वाधिक अर्थात २.७९ प्रतिशतले बढ्यो । यस्तै विकास बैंक समूह ०.१९ प्रतिशत,होटल ०.७८,लगानी ०.७४,जीवन बीमा १.१०,उत्पादन तथा प्रशोधन ०.८९,लघुवित्त ०.०३ र निर्जीवन बीमा १.७८ प्रतिशतले बढ्यो ।
व्यापार समूह आज २.१० प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.३५,फाइनान्स १.०३,हाईड्रो ०.९२ र म्युचुअल फण्ड ०.४८ प्रतिशतले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन सीईडीबी होल्डिङ्ग्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २३ करोड ७६ लाख बढीको कारोबार भयो । सप्तकोशी डेभलपमेन्ट बैंकको आज २१ करोड ६६ लाख,नेपाल पुनर्बीमा कम्पनीको २० करोड ५३ लाख र सुपर मादी हाईड्रोको १६ करोड ४३ लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएका एउटा मात्रै कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज मन्दाकिनी हाईड्रोको सेयरमूल्य १० प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंकको ८.०६ प्रतिशत,न्यादी हाईड्रोको ७.५३,सीईडीबी होल्डिङको ६.९३ र नेपाल पुनर्बीमा कम्पनीको ५.८२ प्रतिशतले बढ्यो ।
यो दिन रिभर फल्स पावरको सेयरमूल्य सर्वाधिक ८.९६ प्रतिशतले घट्यो । मानुषि लघुवित्तको सेयरमूल्य आज ६.७५ प्रतिशत र नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य ६.२२ प्रतिशतले घट्यो ।