काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा उच्च अंकको वृद्धि आएको छ । आज नेप्से परिसूचक २ प्रतिशत अर्थात ५२.३६ अंकले बढेर २ हजार ६६५.४५ विन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.९६ प्रतिशतले बढेर ४४८.८० विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२२ वटा स्क्रिप्टको १ करोड ७६ लाख ९२ हजार ८१९ कित्ता सेयर ९ अर्ब २० करोड ३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको कारोबार दुई महिना पछिकै उच्च हो । यसअघि गत मंसिर १७ गते १० अर्ब ५४ करोड बढीको कारोबार भएको थियो ।
आजको बजारबारे अर्थशास्त्री सूर्यनारायण पौडेल भन्छन्, ‘धेरै समयदेखि साइडवेज चलेको बजारमा आज उच्च अंकको वृद्धि देखिएको छ । बैंक तथा वित्तीय संस्थाको रिपोर्टहरु पनि नराम्रो नआएको र सहज तरलताका कारण ४ सातादेखि साइडवेज चलेको बजारले आज गति लिएको छ । ’
दीर्घकाल र अल्पकाल दुवैका लागि बजार बुलिस नै देखिएको समेत उनले बताए ।‘प्राविधिक रुपमा पनि आज बजार २६२० विन्दु भन्दा माथि टिकेकाले बजार बुलिस नै देखिन्छ । ट्रेडरहरु पनि आज हाबी बनेका कारण बजारले गति लिएको छ र अब बजार २८ सय विन्दु आसपास पुग्न सक्ने देखिन्छ,’ उनले भने ।
नेपाल सेयरधनी संघका अध्यक्ष धनश्याम पाण्डेले पनि अर्थतन्त्रमा आएको सुधार, सरकार ढल्ने अफवाह समाप्त भएर बनेको सकारात्मक माहोल र संसद अधिवेशन चल्दै गरेको जस्ता कारणले बजारले युटर्न लिएको बताए । ‘आज कारोबारसहित सूचक पनि बढेकाले र बजार २५६० भन्दा तल जान नमानेका कारण अब बजारले अप ट्रेण्ड लिएको छ,’ उनले भने ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छायो । आज अन्य समूहमा सर्वाधिक वृद्धि देखियो । यो समूह आज ४.२४ प्रतिशतले बढ्यो । यस्तै बैंकिङ समूह १.३२ प्रतिशत,विकास बैंक २.७४, वित्त ०.८९,होटल २.७१,हाईड्रो २.१२,लगानी ३.८२,जीवन बीमा १.८९,उत्पादन तथा प्रशोधन ०.०८, लघुवित्त १.०७,म्युचुअल फण्ड ०.४९, निर्जीवन बीमा १ र व्यापार समूह २.४५ प्रतिशतले बढ्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ६१ करोड ३६ लाख बढीको कारोबार भयो । नेपाल पुनर्बीमा कम्पनीको पनि आज ४१ करोड २९ लाख, हिमालयन रि इन्स्योरेन्सको ३१ करोड ९६ लाख,सीईडीबी होल्डिङको २९ करोड ४२ लाख र सप्तकोशी डेभलपमेन्ट बैंकको २५ करोड ८ लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएका ३ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज कर्पोरेट डेभलपमेन्ट बैंक,दोल्ती पावर र ग्रिन डेभलपमेन्ट बैंकको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।
यस्तै आज एचआईडीसीएलको सेयरमूल्य ८.४८ प्रतिशत । सुपर मादी हाईड्रोको ८.२० प्रतिशतले बढ्यो ।
यो दिन बाराही हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ८.२१ प्रतिशतले घट्यो । रिभर फल्स पावरको सेयरमूल्य पनि आज ५.६२ र विन नेपाल लघुवित्तको सेयरमूल्य २.८१ प्रतिशतले बढ्यो ।