काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.०८ प्रतिशत अर्थात २.४१ अंकले बढेर २ हजार ७३० विन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२७ प्रतिशतले बढेर ४५९.६१ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१९ वटा स्क्रिप्टको २ करोड ३७ लाख ७० हजार ३४८ कित्ता सेयर ११ अर्ब ८७ करोड ५९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारबारे बजार जानकार अजयसिंह थापा(जयशम्भु) भन्छन्, ‘आजको कारोबार हेर्दा बजारमा केही नाफा बुक भएको देखिन्छ । बजारले २६६०–६५ मा प्रतिरोधको सामना गरेको छ । हिजो र आज बजार सकारात्मक हुनुमा राष्ट्र बैंकले प्रकाशित गरेको ६ महिनाको आर्थिक प्रतिवेदन मुख्य कारण हो । प्रतिवेदनमा राजश्व बढेको, कर्जा प्रवाह बढेको, रेमिट्यान्स बढेको, आयात–निर्यात दुवै बढेको जस्ता विषयले अर्थतन्त्र सबल बन्दै गएको देखिन्छ ।’
यस्तै उनले गभर्नरको बहिर्गमनको विषयले बजारमा थप उत्साह ल्याएको बताए । प्राविधिक रुपमा यदि बजारमा आजको हाई लाई ब्रेक गरेर अघि बढेको खण्डमा बजारमा थप सुधार हुनेमा उनी ढुक्क देखिए ।
अर्का बजार जानकार दामोदर गजुरेलले पनि आज बजारमा अल्पकालिन नाफा बुक भएको बताए । ‘संसदको हिउँदे अधिवेशन चल्दै गर्दा मन्त्री र सरकार तत्कालै फेरिने सम्भावना नरहनु, देशको आर्थिक अवस्था सुधारोन्मुख देखिनु र नयाँ उदारवादी गभर्नर आउने आशाले ठूला लगानीकर्ता बजार पसेका कारण बजारले आज गति लिएको छ ।’
उनको विचारमा आजको हाईलाई बजारले ब्रेक गरेको खण्डमा बजार २८ सय विन्दुसम्म पुग्न सक्ने गजुरेलले बताए ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ७ वटा समूहमा हरियाली छायो भने ६ वटा समूहमा रातो पोतियो । निर्जीवन बीमा समूह आज सर्वाधिक अर्थात ०.८२ प्रतिशतले बढ्यो । साथै, बैंकिङ समूह ०.५४,जीवन बीमा ०.६७,उत्पादन तथा प्रशोधन ०.२७,लघुवित्त ०.१०,म्युचुअल फण्ड ०.७८ र व्यापार समूह ०.७९ प्रतिशतले बढ्यो ।
फाइनान्स समूह आज सर्वाधिक अर्थात १.०७ प्रतिशतले घट्यो । विकास बैंक समूह ०.३९,होटल ०.०१,हाईड्रो ०.४८,लगानी ०.४७ र अन्य समूह ०.६० प्रतिशतले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन नेपाल एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ३५ करोड ३० लाख बढीको कारोबार भयो । सप्तकोशी डेभलपमेन्ट बैंकको पनि आज ३२ करोड ७३ लाख,वरुण हाईड्रोपावरको ३० करोड २२ लाख,साहस उर्जाको २७ करोड ९१ लाख र एक्सेल डेभलपमेन्ट बैंकको २३ करोड ४८ लाख बढीको कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज उपकार लघुवित्त र भूगोल ईनर्जीको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।
यस्तै सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य ८.७४ प्रतिशत, सामुदायिक लघुवित्तको ७.८४ र सामलिङ्ग पावरको ६.८० प्रतिशतले बढ्यो ।
ग्रिन डेभलपमेन्ट बैंक र रिभर फल्स पावरको सेयरमूल्य आज सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो । थ्रिस्टार हाईड्रोको सेयरमूल्य पनि आज ५.५२ प्रतिशत र पाँचथर पावरको सेयरमूल्य आज ४.३५ प्रतिशतले घट्यो ।