काठमाण्डौ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सभा र बुक क्लोजको मिति तय गरेको छ । माघ २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्नीको ३१ औं वार्षिक साधारण सभा डाकेको हो ।
उक्त सभा आगामी फागुन १५ गते काठमाण्डौको नक्सालमा रहेको लिसारा रिसेप्सनमा बिहान साढे १० बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीको सञ्चालक समितिले गत आवका लागि सेयरधनीहरुलाई प्रस्ताव गरेको हाल कायम चुक्तापूँजीको ३० प्रतिशत नगद लाभांश(नगद लाभांशमा लाग्ने कर समेत) वितरणको प्रस्ताव पारित गरिनेछ ।
यस्तै सभामा सञ्चालकहरुलाई प्रदान गरिने बैठक भत्तासम्बन्धी व्यवस्था संशोधन गरी बैठक भत्ता वृद्धि गर्ने र संशोधित नियमावली अभिलेख वा स्वीकृत गर्ने निकायवाट कुनै निर्देशन प्राप्त हुन आएमा सो अनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गरिनेछ ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८०/८१ को वासलात, नाफा नोक्सान हिसाव तथा सोहि अवधिको नगद प्रवाह सहितको वित्तीय विवरण तथा सो सँग सम्वन्धित अनुसूचिहरु छलफल गरी पारित गर्ने, लेखापरीक्षण समितिले सिफारिस गरे बमोजिम आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षक नियुक्त गरी, निजको पारिश्रमिक निर्धारण गर्ने र स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने प्रस्तावहरु समेत पारित हुनेछन् ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले फागुन २ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ फागुन १ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।