शुक्रबार, फाल्गुन ३०,२०८१ 11:52:58
IME remit
  • शुक्रबार, फाल्गुन ३०,२०८१ 11:52:58
IME remit
Global IME Bank Limited

मर्ज भएका चार जीवन बीमा कम्पनीको सेयरभाउ सबैभन्दा सस्तो, कुनमा लगानी गर्दा उचित ?

Hyundai Nepal
मर्ज भएका चार जीवन बीमा कम्पनीको सेयरभाउ सबैभन्दा सस्तो, कुनमा लगानी गर्दा उचित ?
Nabil Bank Limited

काठमाण्डौ । सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीमध्ये नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १२ कम्पनी सूचीकृत छन् । १९ वटा जीवन बीमा कम्पनी रहेकोमा ९ कम्पनी एकआपसमा मर्ज भई संख्या घटेर १४ पुगेको हो ।  

धितोपत्र दोस्रो बजारमा मर्ज भएका कम्पनीहरुकै सेयरभाउ सस्तो छ । यसबाहेक व्यवसायमा समेत सो कम्पनीमा मर्जरको सिनर्जी देखिएको छैन । साविक तीन कम्पनी युनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफ मर्ज भई बनेको हिमालयन लाइफको सेयरबजारमा सबैभन्दा सेयरभाउ सस्तो छ ।  

धितोपत्र दोस्रो बजारमा निर्जीबन बीमा कम्पनीको तुलनामा जीवन बीमा कम्पनीहरुको सेयरभाउ कम छ । सेयरबजारमा जीवन बीमा कम्पनीहरुमध्ये एलआइसी नेपाल बाहेक सबै कम्पनीको सेयरभाउ हजार रुपैयाँभन्दा कम छ । त्यसमध्ये पनि मर्जरमा गएका कम्पनीहरुको सेयरमूल्य अन्यको भन्दा अझै कम छ ।  

हिमालयन लाइफ, प्रभु महालक्ष्मी लाइफ, सुर्यज्योति लाइफ र सानिमा रिलायन्स लाइफको सेयर ५ सय रुपैयाँ भन्दा कम रहेको छ । सेयरबजारमा दीर्घकालिन लगानी गर्न लगानीकर्ताले कम्पनीको वित्तीय अवस्था विश्लेषण गर्नुपर्ने हुन्छ ।  

Shivam Cement
Bizshala
CG Motors

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणको आधारमा यी चार कम्पनीमध्ये कुन कम्पनीमा लगानी गर्दा कम जोखिम तथा बढी फाईदा हुन सक्छ भनेर हामीले तुलनात्मक अध्ययन गरेका छौैं ।  

चुक्तापूँजीको आधारमा  

सेयरबजारमा आफुले लगानी गर्न लागिएको कम्पनीको चुक्तापूँजी कति छ त्यो बुझ्न आवश्यक हुन्छ । बजारमा पूँजी धेरै भएका अधिकांश कम्पनीको सेयरभाउ कम नै रहेको छ । चुक्तापूँजीको आधारमा सूचीकृत सेयर संख्या धेरै हुने भएकाले सेयर खरिद माग कम हुन जाँदा कम्पनीको सेयरभाउ कम हुने गर्दछ । दोस्रो त्रैमाससम्म उक्त चार कम्पनीमध्ये सबैभन्दा बढी पुँजी हिमालयन लाइफ इन्स्योरेन्सको चुक्तापुँजी ८ अर्ब रुपैयाँभन्दा बढी छ । यसकारण पनि कम्पनीको सेयरभाउ सबैभन्दा तल छ ।  

जीवन बीमा कोष र रिटेन्ड अर्निङको आधारमा  

जीवन बीमा कोष र रिटेन्ड अर्निङ बीमा कम्पनीहरुले रकम सञ्चित गर्ने कोष हो । कोषमा सञ्चित रकमको आधारमा कुन बीमा कम्पनी कति बलियो छ र भविष्यमा हुन सक्ने जोखिम धारण गर्न सक्षम छ वा छैन अनुमान लगाउन सकिन्छ । जीवन बीमा कोषका आधारमा हिमालयन लाइफ इन्स्योरेन्स बलियो देखिएको छ । कम्पनीको जीवन बीमा कोषमा ५८ अर्ब ४८ करोड रुपैयाँ सञ्चित छ ।  

त्यस्तै, रिटेन्ड अर्निङलाई जगेडा कोष पनि मान्न सकिन्छ । जीवन बीमा कम्पनीले आफ्ना बीमित, कर्मचारी तथा सेयरधनीलाई प्रतिफल बाँड्न यस्ता कोषमा रकम सञ्चित गरी राख्दछ । बीमा कम्पनीले कहिलेकाहीँ आर्जित मुनाफा सेयरधनीलाई वितरण नगरी जगेडामा संचित गर्ने गर्दछ । दोस्रो त्रैमाससम्म सबैभन्दा बढी सुर्यज्योति लाइफले यस्तो कोषमा १ अर्ब ४० करोड रुपैयाँ संचित गरेको छ ।  

खुद नाफाको आधारमा  

लगानीकर्ताले लगानी गर्नुअघि कम्पनीले कति मुनाफा कमाईरहेको छ त्यो थाहा पाउन जरुरी हुन्छ । यदि कम्पनी नोक्सानमा छ वा गत वर्षको तुलनामा नाफा बढाउन सकेको छैन भने त्यस्ता कम्पनीको सेयरमा लगानी गर्दा जोखिम हुन सक्छ । चालु आवको ६ महिनासम्म सबैभन्दा बढी हिमालयन लाइफ इन्स्योरेन्सले ३४ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।  

खुद बीमा शुल्क आर्जनको आधारमा  

जीवन बीमा कम्पनीहरुका लागि खुद बीमा शुल्क आर्जन व्यवसायको आधारमा मुख्य सूचक हो । बीमा शुल्क आर्जनकै आधारमा बीमा कम्पनीहरुले लगानी दायरा बढाई, आम्दानी गरी खुद नाफा आर्जन गर्दछन् । जसबाट कम्पनीले भविष्यमा सेयरधनीलाई उत्कृष्ट लाभांश समेत बाँड्न सक्ने सम्भावना रहन्छ । दोस्रो त्रैमाससम्म सबैभन्दा बढी हिमालयन लाइफ इन्स्योरेन्सले ७ अर्ब ८९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।  

आम्दानीको आधारमा  

लगानीकर्ताले लगानी गनुअघि कम्पनीले कसरी र कति आम्दानी गरिरहेको छ त्यो थाहा पाउन जरुरी हुन्छ । यदि कम्पनीले उल्लेख्य आम्दानी गर्न सकेको छैन भने लगानी डुब्न सक्ने संभावना बढी हुन्छ । जीवन बीमा कम्पनीले बैंक तथा वित्तीय संस्थामा निक्षेप राखेर ब्याज आम्दानी तथा विभिन्न सूचीकृत कम्पनीको सेयरमा लगानी गरी आम्दानी गरेको हुन्छ । दोस्रो त्रैमाससम्म सबैभन्दा बढी हिमालयन लाइफले १० अर्ब ९ करोड रुपैयाँ कुल आम्दानी गरेको छ । यस्तो आम्दानी कुल ब्यवसायको आधारमा भर पर्दछ ।  

ईपीएसका आधारमा  

धितोपत्र दोस्रो बजारमा लगानी गर्नुअघि कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) कति छ बुझ्न जरुरी हुन्छ । कर पछिको नाफालाई कुल सेयर संख्याले भाग गर्दा आउने प्रतिफललाई नै प्रतिसेयर आम्दानी भनिन्छ । यो सूचकले कम्पनीको मुनाफा आर्जनको क्षमता देखाउने हुँदा कम्पनीको आधारभुत पक्षको विश्लेषणको प्रमुख सूचकको रुपमा लिइन्छ । दोस्रो त्रैमाससम्म सबैभन्दा धेरै ईपीएस सानिमा रिलायन्स लाइफको १०.५० रुपैयाँ छ ।  

प्रतिसेयर नेटवर्थको आधारमा  

प्रतिसेयर नेटवर्थ (बुकभ्यालु) पनि कम्पनीहरुको लागि प्रमुख सूचक मानिन्छ । प्रतिसेयर नेटवर्थबाट कम्पनीले दायित्व तिर्न सकिरहेको छ या छैन बुझ्न सकिन्छ । यो दरमा वृद्धि हुनु नै राम्रो मानिन्छ । नेटवर्थ वृद्धिदरले कम्पनीको दायित्व घटिरहेको बुझ्न सकिन्छ । दायित्व बढ्दै जाँदा कम्पनीको नाफामा संकुचन आउन सक्ने सम्भावना हुन्छ । चालु आवको ६ महिनासम्ममा सबैभन्दा बढी नेटवर्थ सुर्यज्योति लाइफको १६५.१५ रुपैयाँ छ ।  

पीई रेसियोको आधारमा  

मूल्य आम्दानी अनुपात (पीई रेसियो) सूचक सेयर लगानीकर्ताका लागि महत्वपूर्ण हुन्छ । यो सूचकले कम्पनीले कमाएको १ रुपैयाँलाई लगानीकर्ताले कति रुपैयाँ तिरिरहेका छन् भन्ने देखाउँछ । यो अनुपात १८ देखि २५ को हाराहारीमा भए राम्रो मानिन्छ । पीई रेसियो धेरै भएमा सिद्धान्तको आधारमा राम्रो मानिदैन । दोस्रो त्रैमाससम्म सबैभन्दा थोरै पीई रेसियो सानिमा रिलायन्स लाइफको ४४.४७ गुणा छ ।  

अधिकतम तथा न्यूनतम सेयरभाउको आधारमा  

उक्त चार कम्पनीमध्ये जुनकुनै कम्पनीको सेयरमा लगानी गर्नुअघि लगानीकर्ताले सो कम्पनीको सेयरभाउ अधिकतम तथा न्यूनतम कतिसम्म पुगेको छ त्यो थाहा पाउनु जरुरी हुन्छ । अधिकतम र न्यूनतम सेयरभाउ कति छ त्यसैको आधारमा आफुले कतिसम्म लगानी गर्ने त्यो विश्लेषण गर्नुपर्ने हुन्छ । नेप्सेको फ्लोरसिटअनुसार सबैभन्दा बढी सेयरभाउ प्रभु महालक्ष्मीको ६४७.८० रुपैयाँ पुगेको छ, भने न्यूनतम सबैभन्दा हिमालयन लाइफको ३६८ रुपैयाँसम्म पुगेको छ ।  

अन्तिम कारोबार मूल्य  

बिहिबारसम्म जीवन बीमा कम्पनीहरुमध्ये यी चारवटा कम्पनीको सेयरभाउ सबैभन्दा सस्तोमा पुगेको छ । सबैभन्दा कम हिमालयन लाइफको प्रतिकित्ता ३८३.२० रुपैयाँ रहेको छ ।  

त्यस्तै, सानिमा रिलायन्स लाइफको ४२८ रुपैयाँ, सुर्यज्योति लाइफको ४९१.२० रुपैयाँ र प्रभु महालक्ष्मी लाइफको ५१० रुपैयाँ कायम भएको छ ।

नोटः यो रिपोर्ट लगानीका लागि सिफारिस भने होइन, लगानीकर्ताले आफ्नो स्वविवेक प्रयोग गरेर लगानी गर्नु पर्ने हुन्छ । 

स्रोतः कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय प्रतिवेदनका आधारमा तयार

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.