काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.४२ प्रतिशत अर्थात ११.६४ अंकले घटेर २ हजार ६९९.८१ विन्दुमा सीमित बनेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३४ प्रतिशतले घटेर ४५४.४९ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१५ वटा स्क्रिप्टको १ करोड ८६ लाख ८० हजार ३९२ कित्ता सेयर ९ अर्ब २४ करोड ७३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारबारे नेपाल सेयरधनी संघका अध्यक्ष धनश्याम पाण्डे भन्छन्,‘अहिले बजारमा सेयर एक्युमुलेशन चलिरहेको छ । तर बजारले कुनैपनि बेला छलाङ मार्न सक्छ । किनकी अहिले स्थिर सरकार छ, अर्थतन्त्रमा सुधार देखिएको छ,तरलता फालाफाल छ र संसद चलिरहेको छ ।’
उनले लगानीकर्ता मौद्रिक नीतिको समीक्षाको पर्खाईमा रहेको समेत बताए ।
अर्का बजार जानकार अर्जुन थापाले लगानीकर्ताको आत्मबल बढ्न नसक्दा र लगानीकर्ता लो क्याप कम्पनीमा झुम्मिदा सूचकमा सुधार आउन नसकेको बताए । उनले लगानीकर्ताले अझै सस्तो ब्याजदरमा सेयर कर्जा लिन चाहेको समेत बताए । अहिले बजारमा साइडवेजमा चलेतापनि फागुन चैतबाट भने बजारले पूर्ण रुपमा गति लिनेमा थापा विश्वस्त देखिए ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबैमा रातो पोतियो । आज फाईनान्स समूह मात्रै १.५८ प्रतिशतले बढ्यो । आज गिरावट आउने समूहमध्ये विकास बैंक समूहमा सर्वाधिक गिरावट आयो । यो समूह आज १.५३ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.३५, होटल ०.३७,हाईड्रो ०.३८,लगानी ०.३९,जीवन बीमा ०.१६,उत्पादन तथा प्रशोधन ०.४०,लघुवित्त ०.५९,म्युचुअल फण्ड ०.५७,निर्जीवन बीमा ०.४५,अन्य समूह १.०५ र व्यापार समूह ०.११ प्रतिशतले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन साहस उर्जाको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ३१ करोड ३५ लाख बढीको कारोबार भयो । नेपाल पुनर्बीमा कम्पनीको पनि आज २२ करोड २७ लाख,बरुण हाईड्रोको १८ करोड ६९ लाख,सानिमा माई हाईड्रोको १६ करोड २० लाख र युनाइटेड मोदी हाईड्रोको १६ करोड १९ लाख बढीको कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएका एउटा मात्रै कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज अपर लोहरे खोला हाईड्रोको सेयरमूल्य १० प्रतिशतले बढ्यो ।
सेन्ट्रल फाइनान्सको सेयरमूल्य पनि आज ६.५१ प्रतिशत,सुपर मादी हाईड्रोपावरको ५.७१ र मल्टीपर्पस फाइनान्सको ४.९६ प्रतिशतले बढ्यो ।
यो दिन उपकार लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले घट्दै लोअर सर्किट लाग्यो । भूगोल इनर्जीको सेयरमूल्य पनि आज ७.८९ प्रतिशत र राँवा इनजीैको सेयरमूल्य ४.७० प्रतिशतले घट्यो ।