काठमाण्डौ । बीमा कम्पनीहरुले सेयरबजारमा ९०.३९ प्रतिशतले लगानी बढाएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको दोस्रो त्रैमाससम्म बीमा कम्पनीहरुको सेयरबजारमा ३३ अर्ब ३३ करोड ७७ लाख रुपैयाँ लगानी रहेको छ ।
यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा झण्डै दोब्बर बढी हो । गत आवको दोस्रो त्रैमाससम्म बीमा कम्पनीहरुको सेयरबजारमा १७ अर्ब ५० करोड ९९ लाख रुपैयाँ लगानी रहेको थियो ।
जीवन बीमातर्फ १३ कम्पनी, निर्जीवनतर्फ १२, लघुबीमातर्फ ३ कम्पनी र दुई पुनर्बीमा कम्पनी गरी कुल ३० कम्पनीले सेयरबजारमा लगानी गरेका छन् । गत आवको सो अवधिसम्म सेयरबजारमा शुन्य लगानी रहेका तीन लघुबीमा कम्पनीले यस अवधिसम्म लगानी गर्दा बीमकहरुको यो क्षेत्रमा लगानी बृद्धि देखिएको हो ।
अधिकांश बीमा कम्पनीले गत आवको तुलनामा सेयरबजारमा लगानी बढाएको तथ्याङ्कले देखाएको छ । बीमा कम्पनीहरुले आफ्नो कुल लगानीको १० प्रतिशत रकम सेयरबजारमा लगानी गर्न पाउने व्यवस्था छ ।
नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुको लगानी नीति खुकुलो बनाउँदै २०८० पुष महिनामा लगानी निर्देशिका संशोधन गरेको थियो । उक्त संशोधित लगानी निर्देशिकामा बीमा कम्पनीहरुको लगानीको सीमा बढेको थियो । प्राधिकरणका अनुसार बीमा कम्पनीहरुले हाल सूचीकृत कम्पनीको पब्लिक सेयरमा कायम चुक्तापुँजीको १५ प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था गरिदिएको छ ।
यो भन्दा अघि बीमकहरुले सूचीकृत पब्लिक कम्पनीको सेयरमा कायम चुक्तापुँजीको ५ प्रतिशत रकम मात्रै लगानी गर्न पाउने व्यवस्था थियो । लगानीको सीमा बढेसँगै अधिकांश कम्पनीले सेयरबजारमा लगानी थपेको प्राधिकरणले जनाएको छ ।
सो अवधिसम्म जीवन बीमा कम्पनीहरुले मात्रै सेयरबजारमा २५ अर्ब ७७ करोड रुपैयाँ लगानी गरेका छन् । यो रकम गत आवको तुलनामा ९७.६६ प्रतिशत बढी हो । गत आवको दोस्रो त्रैमाससम्म जीवन बीमा कम्पनीहरुले सेयरबजारमा १३ अर्ब ३ करोड रुपैयाँ लगानी गरेका थिए ।
सबैभन्दा बढी सिटिजन लाइफले यो क्षेत्रमा लगानी थपेको छ । कम्पनीको लगानी ५०७.२६ प्रतिशत बढेको छ । राष्ट्रिय जीवन बीमा कम्पनी बाहेक सबै कम्पनीले सेयरबजारमा लगानी थपेका छन् ।
त्यस्तै, निर्जीवन बीमा कम्पनीहरुले सो अवधिसम्म सेयरबजारमा ४ अर्ब ३९ करोड रुपैयाँ लगानी गरेका छन् । यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा २६.३२ प्रतिशत बढी हो । गत आवको दोस्रो त्रैमाससम्म निर्जीवन बीमकहरुको यो क्षेत्रमा ३ अर्ब ४७ करोड रुपैयाँ लगानी रहेको थियो ।
राष्ट्रिय बीमा कम्पनी, सिद्धार्थ प्रिमियर, प्रभु इन्स्योरेन्स र युनाइटेड अजोड इन्स्योरेन्स बाहेक सबै कम्पनीले सेयरबजारमा लगानी बढाएका छन् । सर्वाधिक एनएलजी इन्योरेन्सले यो क्षेत्रमा ४४९ प्रतिशत लगानी बढाएको छ ।
पुनर्बीमातर्फ हिमालयन रि र नेपाल रि इन्स्योरेन्सले ३ अर्ब १० करोड रुपैयाँ सेयरबजारमा लगानी गरेका छन् । यो रकम गत आवको तुलनामा २११.३२ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म यी दुई कम्पनीको यो क्षेत्रमा ९९ करोड ६१ लाख रुपैयाँ लगानी रहेको थियो ।
हिमालयन रि इन्योरेन्सको लगानी ६३८ प्रतिशतले बढेको छ भने नेपाल रि इन्स्योरेन्सको यो क्षेत्रको लगानी ८३.९२ प्रतिशतले घटेको छ ।
लघुबीमातर्फ लिबर्टी माइक्रो लाइफ, गार्डियन माइक्रो लाइफ र ट्रस्ट माइक्रो इन्स्योरेन्सले ७ करोड ४९ लाख रुपैयाँ सेयरबजारमा लगानी गरेका छन् ।
![](https://bizshala.com/uploads/67a4a483c742f.jpg)