काठमाण्डौ । काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिन सरकारले चोरबाटो रोजेको आरोप लगाएका छन् । बिहिबार प्रतिनधि सभाको बैठकमा बोल्दै प्रचण्डले यस्तो आरोप लगाएका हुन् ।
उक्त अवसरमा प्रचण्डले ऐनले नै कल्पना नगरेको निर्देशिका तयार पारेर सरकारले नयाँ स्टक एक्सचेञ्जका लागि लाइसेन्स दिने बाटो रोजेको बताए । यस्तै उनले अहिलेको प्रक्रिया रद्द गरेर नयाँ खुला प्रतिष्पर्धाबाट लाईसेन्सको प्रक्रिया अघि बढाउनु पर्नेमा समेत जोड दिए ।
‘दूरसञ्चार फ्रिक्वेन्सीजस्तै नयाँ स्टक एक्सचेन्जको लाइसेन्सलाई पनि राज्यले आफ्नो सम्पत्ति मान्ने वातावरण बन्नुपर्छ । दिनुपर्ने भए कमिशनबाट होइन, खुला प्रतिस्पर्धा, अझ रकम बढाबढबाट दिनुपर्छ। त्यसका लागि अहिलेको अवैध प्रक्रिया रद्द हुनुपर्छ,सेबोनमा विचौलियाका आँखा लागेको छ, ’ प्रचण्डले भने सत्तापक्षका माननीयहरु, दुःख नमान्नुहोला, तपाईहरुको समर्थन र मतलाई यो सरकारले अपराध होइन, अपराधी धुने डिटर्जेन्ट बनाइरहेको छ। अपराधीलाई चोख्याउने सुनपानी बनाइरहेको छ । अब विचौलियाका आँखा धितोपत्र बोर्डमा गएका छन् ।’