काठमाण्डौ । भारतीय केन्द्रीय बैंक,‘रिजर्भ बैंक इण्डिया(आरबीआई)’ले ५ वर्षमा पहिलोपटक ब्याजदरमा कटौती गरेको छ । आरबीआईले ब्याजदर ६.५ प्रतिशतबाट घटेर ६.२५ प्रतिशतमा झारेको छ ।
आरबीआईका गभर्नर सञ्जय मल्होत्राले आज मौद्रिक नीति कमिटीले गरेको निर्णयका बारेमा जानकारी दिएका हुन् ।
यससँगै अब भारतमा सबै कर्जा सस्तो पर्नेछ भने ईएमआई पनि घट्नेछ ।
रेपो रेट घटेसँगै बैंकहरुले हाउजिङ तथा अटो जस्ता कर्जाहरुमाथिको आफ्नो ब्याजदर पनि घटाउन सक्नेछन् । ब्याजदर घटेसँगै हाउजिङको माग बढ्नेछ । धेरैजसो मानिसहरुले रियल स्टेटमा लगानी गर्न सक्ने जनाइएको छ ।
भारतीय रिजर्भ र्बैंकले आर्थिक वर्ष २०२६का लागि भारतको विकासदर ६.७ प्रतिशत रहने अनुमान गरेको छ । यस्तै वित्त वर्ष २०२६ का लागि रियल जीडीपी ग्रोथ ६.७५ प्रतिशत,अप्रिल–जुन २०२५ त्रैमासको ६.७ प्रतिशत,जुलाई–सेप्टेम्बर २०२५ त्रैमासका लागि ७ प्रतिशत रहने अनुमान गरिएको छ ।
यस्तै गभर्नर मल्होत्राले यो वित्त वर्षमा भारतको महङ्गाई दर ४.८ प्रतिशत रहने अनुमान गरेको छ । उनले आगामी दिनमा महङ्गीदर थप घट्दै जाने बताए ।