काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च९नेप्से० मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.४२ प्रतिशत अर्थात ११.४९ अंकले घटेर २ हजार ६८८.३१ विन्दुमा सीमित बनेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४९ प्रतिशतले घटेर ४५२.२१ विन्दुमा खुम्चिएको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०५ वटा स्क्रिप्टको १ करोड ५८ लाख ५५ हजार ६१० कित्ता सेयर ८ अर्ब ३९ करोड ८६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारबारे बजार जानकार अजयसिंह थापा(जयशम्भु) भन्छन्, ‘आम रुपमा साताको पहिलो कारोबार दिन बजार घट्ने नै गर्छ । आजको बजारको गिरावटको मुख्य कारण लगानीकर्ताको मनोबलमा कमी आउनु नै हो । बजारमा भोल्यमुको अवस्था राम्रै छ । भोल्युम कम भएमा भने बजार रिभर्सल हुनसक्छ । ’
थापाले फागुन महिनाका लागि ब्याजदरमा कमी आयो भने बजारमा सुधार आउने विश्वास व्यक्त गरे । यस्तै मौद्रिक नीतिको समीक्षाको मनोवैज्ञानिक प्रभाव समेत बजार पर्ने उनले बताए । ‘लगानीकर्ताले मौद्रिक नीतिको समीक्षालाई आँकलन गरेर लगानीको रणनीति बनाउने गर्छन,’ उनले भने ।
यदि बजारमा धेरै करेक्सन नआयो भने बजारले विस्तारै गति लिने समेत उनले बताए ।
अर्का बजार जानकार प्रकाश रजौरेले आजको बजार घटाई सामान्य नै भएको र बजारको अवस्था कमजोर नरहेको बताए । ‘बजार २४ सय, २५ सय र २६ सय रेञ्ज गर्दै घुमिरहेको छ । बजारलाई एउटा चरणबाट अर्कोमा जान गूड न्यूजको आवश्यकता पर्छ । अहिले बजारमा वियरिसको वेभ चलिरहेको छ । बजार अब थर्ड वेभमा प्रवेश गर्ने तरखरमा रहेको छ,’ उनले भने ।
उनले यतिबेला लगानीकर्ताले कम मूल्यमै स्टक होल्ड गरिरहेको बताए र आगामी मौद्रिक नीतिको समीक्षामा लगानीकर्ता क्याप हट्ने र जोखिमभार घट्ने आशामा रहेको समेत उनले बताए ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ४ वटा बाहेक अन्य सबैमा रातो पोतियो। आज व्यापार समूहमा सर्वाधिक वृद्धि देखियो । यो समूह आज १.२९ प्रतिशतले बढेर ४ हजार ४१८.८४ विन्दुमा पुग्यो ।
यस्तै आज फाइनान्स समूह ०.८० प्रतिशत,उत्पादन तथा प्रशोधन ०.१५ र लघुवित्त ०.२५ प्रतिशतले बढ्यो ।
विकास बैंक समूहमा आज सर्वाधिक गिरावट आयो । यो समूह आज १.३५ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.३५ प्रतिशत, होटल ०.२४,हाईड्रो ०.५०,लगानी ०.३९,जीवन बीमा ०.७६,म्युचुअल फण्ड ०.३४, निर्जीवन बीमा ०.५७ र अन्य समूह १.३० प्रतिशतले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ३१ करोड १६ लाख बढीको कारोबार भयो । सीईडिबी होल्डिङ्ग्सको पनि आज ३० करोड ६२ लाख,सेन्ट्रल फाइनान्सको २० करोड ७ लाख र नेपाल पुनर्बीमा कम्पनीको १५ करोड ८० लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज सेन्ट्रल फाइनान्स र गार्डियन लाइफको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।
यस्तै उपकार लघुवित्तको सेयरमूल्य ६.०६ प्रतिशत,इन्फिनीटी लघुवित्तको ६.०२ र अपर लोहरे खोला हाईड्रोको सेयरमूल्य ५.२७ प्रतिशतले बढ्यो ।
यो दिन सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक घट्यो । यो कम्पनीको सेयरमूल्य आज ६.५२ प्रतिशतले घट्यो । सिन्धु विकास बैंकको सेयरमूल्य पनि आज ५.६१ प्रतिशत, भूगोल इनर्जीको ४.५६ र छ्याङदी हाईड्रोको सेयरमूल्य ४.५६ प्रतिशतले घट्यो ।