काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) उच्च अंकले बढेको छ । आज नेप्से परिसूचक १.१७ प्रतिशत अर्थात ४९.१५ अंकले बढेर २ हजार ८१५.०४ विन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.१२ प्रतिशतले बढेर ४६९.८२ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०० वटा स्क्रिप्टको २ करोड ६१ लाख ९९ हजार ७८० कित्ता सेयर ११ अर्ब ३९ करोड २४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारबारे बजार जानकार विनोद अर्याल भन्छन्, ‘ आजको बजार विशेष गरेर दुई–तीनवटा कारणले बढेको हो । पहिलो कारण भनेको नेपाल ग्रे लिस्टमा परेकाले ठूला एलसी खोल्न रोकिने त्यो पैसा अल्पकालिन रुपमा बजारमा भित्रिएको हुनसक्छ । अर्को कारण भनेको मौद्रिक नीतिको समीक्षामा बैंकहरुलाई सहज हुनु हो । यी कारणहरुले आज बजार २८ सय विन्दुमाथि टिकेको छ ।’
यस्तै उनले अब बजारले ३ हजार विन्दुसम्मको यात्रा सहजै पुरा सर्ने समेत दाबी गरे । अर्का बजार जानकार सुमन कुमार रिजालले पनि आज भोल्युमसहित बजारले २७८० को प्रतिरोध ब्रेकआउट गरेको बताए । यसले गर्दा बजार अप ट्रेण्डमै रहेको उनले बताए । बैंकहरुलाई मौद्रिक नीतिको समीक्षामा केही सहज व्यवस्था हुनु र गभर्नर पनि बिदामा बस्न सक्ने आँकलनले पनि आज बजार झण्डै ५० अंकले बढेको उलने बताए ।
उनको विचारमा अब बजारले नयाँ फड्को मार्नेछ ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छायो । बैंकिङ समूहमा आज रौनक देखियो । यो समूह आज ३.३२ प्रतिशतले बढ्यो । विकास बैंक समूह पनि आज १.५३ प्रतिशत, वित्त ०.२८, होटल १.१२,हाईड्रो १.८०,लगानी १.२५,जीवन बीमा ०.८१,उत्पादन तथा प्रशोधन २.९१,लघुवित्त ०.९१,म्युचुअल फण्ड ०.८८,निर्जीवन बीमा ०.७०,अन्य १.०१ र व्यापार समूह १.२० प्रतिशतले बढ्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ९६ करोड ४७ लाख बढीको कारोबार भयो । नेपाल पुनर्बीमाको पनि आज ७६ करोड ४२ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको ४६ करोड ७९ लाख,सिंगटी हाईड्रोको २४ करोड २६ लाख र कुमारी बैंकको २० करोड ३७ लाख बढीको कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएका ५ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज गार्डियन माइक्रो,अपर हेवाखोला हाईड्रो,सिन्धु विकास,दोर्दीखोला र लिबर्टी इनजीको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।
यो दिन भूगोल इनर्जीको सेयरमूल्य सर्वाधिक अर्थात ७.१७ प्रतिशतले घट्यो । उपकार लघुवित्तको सेयरमूल्य आज ६.२५ प्रतिशत र आइएमई लाइफको सेयरमूल्य ४.१६ प्रतिशतले घट्यो ।