काठमाण्डौ। पूँजीबजारमा कारोबारको अन्तिम १५ मिनेटको मूल्यलाई अन्तिम मूल्य निधारण गर्ने विधि नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट पारित भएको छ । सेबोनको अघिल्लो साता बसेको सञ्चालक समितिको बैठकले यो विषय पारित गरेको हो ।
नेपाल स्टक एक्सचेञ्जका कायम मुकायम(कामु)सीईओ निरञ्जन फुयाँलले यस विषयको जानकारी बिजशाललाई दिएका हुन् । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले अघिल्लो साता एक विनियमावलीलाई परिमार्जन गर्दै अन्तिम १५ मिनेटको मूल्यलाई भारित औषत मूल्य निर्धारण गर्ने पस्ताव धितोपत्र बोर्डमा पठाएको थियो । फुयाँलले यो विषय धितोपत्र बोर्डबाट स्वीकृत भएर नेप्सेमा आएको बताए ।
उनका अनुसार यो विषय अब सिस्टममा मिलाउन २÷३ साता लाग्ने छ । हामीले प्रायः बिहिबार नयाँ व्यवस्थाको परिक्षण गर्दै आएका छौं । टीएमएसमा परीक्षण गरेपछि अबको ३ साताभित्र कार्यन्वयनमा आउने फुयालले जानकारी दिए । हाल धितोपत्र बजारमा सेयर खेलाडीहरुले अन्तिम समयम बजार बढाउने वा घटाउने गरेको केही लगानीकर्ताहरुले आरोप लगाउँदै आएका छन । यो व्यवस्थापछि अब अन्तिम समयमा बजारमा चलखेल रोकिने पनि धेरै लगानीकर्ताहरुको बुझाइ छ ।
तर सेयर खेलाडीहरुको सयौं जुक्ति हुने भएकोले बजारमा यसको कस्तो प्रभाव पर्छ भन्ने विषय कार्यन्यनमा आएपछि मात्रै थाहा हुने बजार जानकारहरुको मत रहेको छ ।