काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.०९ प्रतिशत अर्थात २.७० अंकले घटेर २ हजार ८१८.४३ विन्दुमा सीमित बनेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.२२ प्रतिशतले बढेर ४७०.६० विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१० वटा स्क्रिप्टको १ करोड ९० लाख ४१ हजार ५१४ कित्ता सेयर १० अर्ब १० करोड १८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारबारे बजार जानकार उपेन्द्र पाठक भन्छन्, ‘हिजोआजको बजारको घटाई सामान्य करेक्सन मात्रै हो । अहिलेको बजारमा एक्युमुलेशन चलिरहेको भन्न सकिन्छ । मौद्रिक नीतिको समीक्षाको व्यवस्थाले वाणिज्य बैंकहरुको तेस्रो त्रैमासिक रिपोटमा सुधार आउने देखिन्छ । यसकारण तेस्रो त्रैमासपश्चात बजारले गति लिनेमा ढुक्क हुन सकिन्छ । ’
पाठकले हालका गभर्नर पुनः दोहोरिने विषय अफवाह मात्रै भएको बताए ।
अर्का बजार जानकार तथा प्राविधिक विश्लेषक सुवास चन्द्र ढुङ्गानाले हालको बजार सप्लाई जोनबाट करेक्सन आएको बताए । ‘आजको कारोबारमा अनिर्णयको क्याण्डल बनेको छ । बजार घट्दा कारोबार घट्नु भने त्यति राम्रो मानिदैन ।’
हाललाई भने १५ अर्बसम्मको दैनिक कारोबार भएको खण्डमा बजारले अप ट्रेण्ड लिन सक्ने उनले बताए । यस्तै उनले बजारले २७६० देखि २७८० मा बलियो सपोर्ट लिनसक्ने दाबी गरे ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ४ वटा बाहेक अन्य सबैमा रातो पोतियो। आज विकास बैंक समूहमा सर्वाधिक उछाल आयो । यो समूह आज १.८६ प्रतिशतले बढेर ५ हजार ९११ विन्दुमा पुग्यो ।
यस्तै आज बैंकिङ समूह ०.०३ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.२४ र लघुवित्त समूह ०.०५ प्रतिशतले बढ्यो ।
जीवन बीमा समूह आज सर्वाधिक अर्थात ०.८० प्रतिशतले घट्यो । फाइनान्स समूह पनि आज ०.२३ प्रतिशत,होटल ०.५७, हाईड्रो ०.०६,लगानी ०.१४,म्युचुअल फण्ड ०.१८, निर्जीवन बीमा ०.०४,अन्य ०.७१ र व्यापार समूह ०.२४ प्रतिशतले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको १ अर्ब १२ करोड ८३ लाख बढीको कारोबार भयो । नेपाल पुनर्बीमा कम्पनीको पनि आज १ अर्ब ८ करोड, एनआरएन इन्फ्रास्ट्रक्चरको ३४ करोड १७ लाख,घलेम्दी हाईड्रोको ३१ करोड ५७ लाख र फर्स्ट माइक्रोफाइनान्सको २६ करोड ४७ लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएका ४ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज गार्डियन माइक्रो लाइफ,भूगोल इनर्जी,उपकार लघुवित्त र राप्ति हाईड्रोको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।
महालक्ष्मी विकास बैंकको सेयरमूल्य आज ७.८४ प्रतिशत,शिखर इन्स्योरेन्सको ५.२६ र फर्स्ट माइक्रोको सेयरमूल्य ४.०६ प्रतिशतले बढ्यो ।
गुराँस लक्ष्मीको सेयरमूल्य आज सर्वाधिक घट्यो । यो कम्पनीको सेयरमूल्य ७.६० प्रतिशतले घट्यो ।