काठमाण्डौं । धितोपत्र कारोबारमा केही ब्रोकरहरुले लगानीकर्ताहरबाट चर्को ब्याज असुली गरिरहेको लगानीकर्ताहरुले आरोप लगाएका छन् । नागरिक स्टक डिलर(स्टक ब्रोकर नम्बर ६०)ले सेयर लगानीकर्ताहरुबाट १८ प्रतिशतसम्म ब्याज असुली गर्ने गरेको नागरिक स्टक डिलरको बानेश्वरस्थित कार्यालयमा भेटिएका केही लगानीकर्ताले गुनासो गरेका हुन् ।
नाम उल्लेख नगर्ने शर्तमा एक लगानीकर्ताले निकै भावुक हुँदै भने ‘हामी नयाँ ब्रोकर भनेर पुरानो छोडेर आयौं । तर अहिले तातो तेलको तावाबाट आगोको भुङ्ग्रोमा परेका माछा जस्तै भएका छौं ।’ उनले थप्दै भने, ‘मलाई यो ब्रोकरले साढे ४ लाख रुपैँया त ब्याज नै तिर्न भनेको छ । मैले ब्रोकरसँग कुनै कागजी सम्झौता गरेको छैन । तर ब्रोकरले बजार घटेर थाल खाउ कि भात खाउ भएको बेला झनै समस्यामा पारेको छ ।’
ब्रोकरले त्यस्तो हिसाव लेजरमा नदेखाउने तर हिसाब भने माग्ने गरेको उनले बताए । ‘यदि धितोपत्र बोर्डबाट कानूनि रुपमा नै मिल्ने हो भने कागजी सम्झौता गरेर सबै लगानीकर्ताहरुलाई चार्ज गर्नु पर्छ,’ उनले भने । तर ब्रोकरले केही लगानीकर्ताहरुलाई मात्रै यस्तो ब्याज असुली गरेर पक्षपात गरेको नागरिक स्टक डिलरमा भेटिएका एक लगानीकर्ताले गुनासो गरे ।
त्यसैगरि ठूलो ब्रोकर भनेर चिनिएको नासा सेक्यूरिटिज(स्टक ब्रोकर न.५८)मा भेटिएका एक लगानीकर्ताले पनि नाम उल्लेख नगर्ने शर्तमा आफूले पनि ब्रोकरको ब्याजको पासोमा परेको गुनासो गरे । यस विषयमा नगारिक स्टक डिलरमा बुझ्न खोज्दा ब्रोकर सञ्चालकले कुनैपनि प्रतिक्रिया दिन चाहेनन् । धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले हाल ब्रोकरहरुबाट मार्जिन कारोबारको व्यवस्था नभएता पनि लगानीकर्ता र ब्रोकरहरुबीचमा सम्झौता भएर यस्तो कारोबार भएको हुनसक्ने बताए । उनले यस विषयमा ब्रोकरहरुले भने मनलाग्दी चर्को ब्याज लिन नमिल्ने र आफूहरुले यस विषयमा बुझ्ने पनि जानकारी दिए ।