काठमाण्डौ । साइबर नेटिक्स र ग्राण्डी इन्टरनेशनल अस्पतालबीच आज एक समझदारीपत्रमा हस्ताक्षर भएको छ। उक्त सम्झदारीअन्तर्गत, दुबै संस्थाले विदेशमा रहेका व्यक्तिहरुले नेपालमा रहेका आफ्ना बिरामी आमा–बुवा तथा अन्य परिवारिक सदस्यको लागि उचित हेल्थी हेल्थ प्याकेज ल्याउने निर्णय गरेका छन् । जसले विश्वभरि रहेका छोराछोरी तथा आफन्तले अनलाइनकबाट सेवा खरिद गरी आफ्नो नेपालमा रहेका परिवारलाई स्वास्थ्य सेवा प्रदान गर्न सक्नेछन्।
यस प्याकेजअन्तर्गत विशेषगरी पूर्ण स्वास्थ्य परीक्षण , प्याथोलोजी सेवाहरू,निवारक तथा अग्रिम उपचार सेवा, फिजियोथेरापी, अर्थोपेडिक, न्युरोलोजी, कार्डियोलोजी तथा अन्य स्वास्थ्य परिक्षणको सुबिधा लिन सकिनेछ।
सम्झौतापत्रमा ग्राण्डी अस्पतालका प्रमुख कार्यकारी अधिकृत कर्नेल अमृत खन्ना र साइबरनेटिक्सका प्रबन्ध निर्देशक जेम्स न्याछ्योनले हस्ताक्षर गरे । समारोहमा दुवै संस्थाका शीर्ष पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
समारोहमा बोल्दै ग्राण्डी अस्पताल प्रमुखले भने, ‘विदेशमा रहेका नेपाली दाज़ुभाई तथा दिदीबहिनीहरूले अब आफ्नो बाआमा तथा आफन्तलाई विश्वस्तरीय स्वास्थ्य सेवा अनलाइनबाट खरिद गरी प्रदान गर्न सक्नेछन्। यो सम्झौता हामी सबैका लागि गर्वको क्षण हो।’
त्यस्तै, साइबरनेटिक्सका प्रबन्ध निर्देशक जेम्सन्या छ्योनले भने ,‘हामी डिजिटल प्रविधिको सहायताले विदेशमा बस्ने सम्पूर्ण नेपालीहरुले आफ्नो मातृभूमि नेपालमा बस्ने आफन्तजनहरुलाई स्वास्थ्य सेवा सुबिधा पुर्याउने यात्रामा छौं।’