काठमाण्डौ । नेपालीमा रहेको भनाई,‘सन्तान थरीथरीका’ भने जस्तै सेयर बजारमा पनि विभिन्न प्रकारका लगानीकर्ता भेटिन्छन् । बजारमा लगानीकर्ताका आ–आफ्ने लगानी रणनीति र कारोबार गर्ने शैलीहरु हुने गर्छन् ।
अहिले केही लगानीकर्ता ‘७२ घण्टे’को नामले चिनिन्छन् भने मध्य तथा दीर्घकालका लागि लगानी गर्नेको संख्या थोरै छ । सेयर बजारमा केही यस्ता लगानीकर्ता हुन्छन् जो खातामा सेयर आएपछि बेचिहाल्छन् । यस्ता लगानीकर्तालाई बजारमा ‘७२ घण्टे’को नामले चिनिन्छ । यसो भन्नको कारण के हो भने अहिले नेपालको सेयरबजारमा टी प्लस २ रहेको छ । अर्थात किनेको ३ कारोबार पछि सेयर बेच्न मिल्छ ।
जसलाई सेयर कारोबारी पनि भनिन्छ । यस्ता लगानीकर्ताहरुबाट सरकासले कर पनि बढी नै लिने गर्छ । सेयर बजारमा हामीले भेटेका लगानीकर्ताहरुको अनुभव, ज्ञान तथा उनीहरुको बिचारहरुलाई अन्य लगानीकर्ताहरुलाई पनि शिक्षा होस् भन्ने हेतुले पकस्दै आएका छौं ।
यसै सिलसिलामा आज हामी पुगेको सूमेरु सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३९) मा भेटिएका एक साहसी लगानीकर्ता दूर्गा गौतमका अनुभव तथा बिचारलाई समेट्ने प्रयास गरेका छौं । उनले ब्रोकरहाउसमा अन्य लगानीकर्तासँग गफगाफ गर्दा अनौपचारिक रुपमा आफ्नो धारणा राखेका हुन् । सेयर बजारमा प्रवेश गर्नुअघि गौतमले अन्य धेरै व्यापार–व्यवसाय हात हालेका थिए । अन्य व्यापार व्यवसायमा जस्तै सेयर बजारमा पनि अनेक आरोह अवरोह पार गरेका गौतम भन्छन् ‘अन्य व्यापार भन्दा सेयर बजार निकै सहज छ । बजार न्यून विन्दुमा आएको समयमा राम्रा कम्पनीमा लगानी गरेर बसेमा बजारले एकपटक राम्रै प्रतिफल दिन्छ । खासगरि सेयर बजार ब्याजदर न्यून विन्दु भएको बेला माथि लाग्ने गर्छ । त्यही भएर सस्तो ब्याजदर पुगेको समयमा सेयर कर्जा नै लिएर भएपनि बजारमा लगानी गरी घाटाबाट बच्न सकिन्छ । अन्य व्यापारमा जस्तै यसमा पनि कहिलेकाही निकै कठिन अवस्था पनि आउछ ।’
गौतम थप्दै भन्छन् ‘कठिन समयमा टिक्नसक्नु भयो भने सेयर बजार सुन्दर पनि छ ।’ आफूले ४६ सयमा किनेको सेयर १२ सयमा आउदा पनि नआत्तिएको तर पछि त्यतिनै बराबर कित्ता थपेर किनेर नाफा मा नै बेचेको उनको अनुभव रहेको छ । उनको अनुभवमा बजार टप लागेको समयमा भने सेयर बेच्न पनि सक्नुपर्छ ।
गौतमले सेयर बजारमा तिता मिठा दुवै अनुभवहरु संगालेका छन् । एक पटकको कठिन अनुभब सुनाउदै गौतमले भने, ‘सेयर बजार घटेर २९२ विन्दुमा आएको समय निकै पीडादायी अवस्था थियो । त्यो समयमा बल्ल बल्ल परिवालाई विश्वासमा लिएर घर नै धितो राखेर कर्जा लिएर सेयर किने । त्यस पछि भने मैले सेयर बजारबाट पछि फर्कनु परेको छैन ।’
सेयर बजारमा सफल हुन घर परिवारको पनि साथ चाहिने गौतम बताउछन् । उनले अन्य लगानीकर्ताहरुलाई पनि ७२ घण्टे हुनु भन्दा पनि योजना बनाएर लगानी गर्दा सफल हुन सकिने सुझाव दिए ।