काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर खरिद गर्न छुटेका लगानीकर्ताका लागि फैरि मौका दिएको छ । कम्पनीले गत चैत १९ गतेदेखि वैशाख ८ गतेसम्म निष्कासन गरेको हकप्रदमा केही सेयरधनीहरु आफ्नो हकबराबरको हकप्रद सेयर खरिद गर्न छुटेकाले त्यस्ता सेयरधनीहरुका लागि अन्तिम मौकाको रुपमा आजदेखि फेरि हकप्रद सेयरका लागि दरखास्त आवेदन खुला गरेको हो ।
हकप्रद सेयर निष्कासन प्रयोजनका कम्पनीले गत फागुन १५ गतेका लागि बुक क्लोज गरेको थियो । यसर्थ फागुन १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको हकप्रदमा आवेदन दिन योग्य हुनेछन् ।
लगानीकर्ताले सानिमा बैंकका शाखा कार्यालयहरुः विराटनगर,वीरगञ्ज,पोखरा,बुटवल,नेपालगञ्ज,विरेन्द्रनगर,धनगढी,लमजुङ,सानिमा क्यापिटलको कार्यालय नक्साल र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यस्तै सीडीएससीको मेरो सेयरबाट पनि अनलाइन आवेदन सकिनेछ।
सेयरधनीहरुले वैशाख १४ गतेसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीले गत चैत १९ गतेदेखि वैशाख ८ गतेसम्म हाल कायम चुक्तापूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४ सय रुपैयाँको १ः१ अनुपातमा रु.१०० अंकित दरका १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद निष्कासन गरेको थियो ।