काठमाण्डौ । उत्तर कोरियाले पहिलो पटक रुस–युक्रेन युद्धमा रुसको पक्षमा लड्न आफ्ना सेना पठाएको पुष्टि गरेको छ । यो जानकारी उत्तर कोरियाको सरकारी समाचार एजेन्सी कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए( ले दिएको हो।
समाचार एजेन्सीको रिपोर्टका अनुसार उत्तर कोरियाको सेनाले नेता किम जोङ उनको आदेशमा कुर्स्क सीमा क्षेत्रलाई ‘पूर्ण रूपमा स्वतन्त्र’ गर्न रुसी सेनालाई सहयोग गरेको दाबी गरेको छ। दक्षिण कोरिया र पश्चिमी देशका गुप्तचर एजेन्सीहरूले लामो समयदेखि उत्तर कोरियाले कुर्स्कमा हजारौं सैनिक पठाएको बताउँदै आएका छन्।
केसीएनएले उत्तर कोरिया र रुसबीचको आपसी रक्षा सन्धिबमोजिम सेना परिचालन गर्ने निर्णय गरेको जनाएको छ ।
हालै, रुसी चिफ अफ स्टाफ भ्यालेरी गेरासिमोभले उत्तर कोरियाली सैनिकहरूको बहादुरीको प्रशंसा गरे। भ्यालेरी गेरासिमोभले पनि रुसले देशको पश्चिमी कुर्स्क क्षेत्रमा पूर्ण नियन्त्रण प्राप्त गरेको दाबी गरे, जसलाई युक्रेनले अस्वीकार गरेको छ।